ज्योतिषीय विश्लेषण : बाह्य हस्तक्षेप सफल हुँदैन

काठमाडौँ । ज्योतिष उदय निरौलाका अनुसार वि.सं. २०८३ को वर्ष कुण्डलीमा ग्रहहरूको विशिष्ट स्थितिका कारण नेपालको राजनीति र समाजमा ठूलो परिवर्तन आउने देखिएको छ।

२०८३ को राजा वृहस्पति र मन्त्री मङ्गल रहने तथा वर्ष लग्नमा गुरु (वृहस्पति) मिथुन राशिमा रहने भएकाले यसले देशमा धर्म र न्यायको नयाँ परिभाषा स्थापित गर्ने उनको विश्लेषण छ।

निरौलाका अनुसार गुरु धर्मका कारक हुन् र शनिलाई न्यायाधीश मानिन्छ। धर्म भन्नाले कुनै विशेष सम्प्रदाय नभएर समाजमा दया, प्रेम, करुणा, भक्ति र न्याय जस्ता मानवीय मूल्यलाई बुझ्नुपर्छ।

आगामी सात वर्षसम्म गुरु अतिचारी रहने भएकाले देशमा व्याप्त अतिचार, व्यभिचार र भ्रष्टाचारको अन्त्यका लागि गुरु र शनि दुवै सक्रिय रहने उनले बताए।

अबको समय ‘जेन-जी’ भनिने नयाँ पुस्तामा शक्ति हस्तान्तरण हुने र यो पुस्ता संसारभर नै सक्रिय रहने निरौलाको दाबी छ। नेपाल धर्मको शिर भएको उल्लेख गर्दै उनले यहाँका मानिसहरू न्यायिक हुनुपर्नेमा त्यसो नभएकाले अब भ्रष्टाचारीहरूको अन्त्य निश्चित रहेको उल्लेख गरे।

सत्तामा रहनेहरूको जमात अन्यायपूर्ण बाटोमा लागेमा नयाँ पुस्ताले उनीहरूको अन्त्य गर्ने र क्रमिक रूपमा सत्ता युवाहरूको हातमा पुग्ने उनको भनाइ छ।

ज्योतिषीय विश्लेषण अनुसार नेपालमा नेपाली कांग्रेस र एमाले जस्ता सपना देखाउने पुराना दलहरूको अन्त्य सधैँका लागि हुनेछ। पुराना कुरीति र कुसंस्कारहरू हटेर जानेछन् भने मौलिक संस्कार र संस्कृतिको विकास हुनेछ।

देशमा स्वास्थ्य र शिक्षाको अवस्था सुध्रिने तथा वैदेशिक लगानीको ढोका खुल्ने भएकाले नेपाल उन्नतिको बाटोमा जाने उनले बताए।

नेपालमा पाखण्डी र ठगीहरूको अन्त्य हुने तथा बाह्य हस्तक्षेपका जस्तासुकै प्रयास भए पनि कुनै पनि देश नेपालमा सफल नहुने उनको दाबी छ।

नेपाल विश्वकै लागि एउटा नमुना देश बन्ने र अन्य मुलुकलाई समेत बाटो देखाउने सामर्थ्य राख्ने निरौलाले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *