पराजयपछि खुले ओली, ‘जनताको फैसला शिरोधार्य छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले पूर्ण सम्मान गर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै उनले निर्वाचनमा प्राप्त भएको परिणामलाई लोकतान्त्रिक प्रक्रियाको उपजका रूपमा स्वीकार गरेका हुन् ।
अध्यक्ष ओली आफैँ पनि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले ठूलो मतान्तरले पराजित गरेका हुन् । यस पटकको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्र जित्न सकेको छ ।
‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ ओलीले भनेका छन्, ‘लोकतान्त्रिक प्रणालीमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’ उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन् ।
ओलीले एमालेको पक्षमा मतदान गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिँदै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताएका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,’ उनले उल्लेख गरेका छन्, ‘हामी आगामी दिनमा पनि जनताकै बीचमा रहनेछौँ र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’
