‘आदर्शअनुसार चल्न नसक्दा चुनावी हार’
काठमाडौँ । निर्वाचनको परिणाम सार्वजनिक भएपछि नेकपा एमालेभित्र आन्तरिक समीक्षाको क्रम सुरु भएको छ । यसै सन्दर्भमा एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमानको निराशाजनक परिणाम भोग्नुपरेको टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले कम्युनिस्टहरू परिवर्तनको पक्षधर हुन् भन्ने मान्यता आदर्शवादी व्यवहारबाट निर्माण हुने भए पनि व्यवहारमा त्यस्तो देखिन नसक्नु नै मुख्य समस्या रहेको बताएकी छन् ।
नेतृ भट्टराईले पार्टी सञ्चालनको शैली र नेताहरूको व्यवहारमा आएको विचलनले गर्दा आम जनताको सोच र पार्टीको कार्यशैलीबिच तालमेल मिल्न नसकेको उल्लेख गरेकी छन् ।
आजको परिणामलाई विगतका कार्यशैली र व्यवहारगत त्रुटिहरूको उपजका रूपमा व्याख्या गर्दै अब रचनात्मक संवादको आवश्यकता रहेकोमा उनले जोड दिएकी छन् ।
विगतका गल्तीहरूलाई ढाकछोप गर्नुभन्दा पनि वस्तुगत समीक्षा गरेर मात्रै आगामी दिनको सुखद यात्रा तय गर्न सकिने उनको ठहर छ ।
भट्टराईले केवल आरोप–प्रत्यारोपमा नअल्झिएर गम्भीर आत्ममन्थन गर्न नेतृत्वलाई आग्रह गरेकी छन् । कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन र जनताको विश्वास पुनः प्राप्त गर्नका लागि आदर्श र व्यवहारलाई सँगै लैजानुको विकल्प नरहेको उनले बताएकी छन् ।
