माघमा उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२ को माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको ४.१६ प्रतिशतको तुलनामा उल्लेखनीय कमी हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.८६ प्रतिशत थियो । यसले समग्र मूल्यवृद्धि नियन्त्रणमा रहेको देखाए पनि केही उपसमूहमा भने मूल्य वृद्धि कायमै छ ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहँदा तरकारीको मूल्य ११.६३ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेलको ७.६१ र फलफूलको ७.४१ प्रतिशतले मूल्य बढेको छ । अर्कोतर्फ, दाल तथा गेडागुडीको मूल्य ५.१९ प्रतिशत र खाद्यान्नको मूल्य २.९७ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य २१.९८ प्रतिशतले बढेको छ । शिक्षामा ७.४६ प्रतिशत, कपडा तथा जुत्ता चप्पलमा ५.२८ प्रतिशत र मदिराजन्य पदार्थमा ३.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ । सञ्चार उप–समूहको मूल्यमा भने ०.०८ प्रतिशतको सामान्य गिरावट आएको छ ।
प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ५.१४ प्रतिशत मुद्रास्फीति देखिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम १.६२ प्रतिशत मूल्य वृद्धि छ । भौगोलिक क्षेत्रअनुसार काठमाडौँ उपत्यकामा ३.४८, तराईमा ३.६६, पहाडमा २.६८ र हिमालमा २.५८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
थोक मुद्रास्फीतितर्फ भने ६.२१ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.४७ प्रतिशत मात्र थियो । छिमेकी मुलुक भारतमा सन् २०२६ जनवरीमा उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत रहँदा नेपालमा भने केही बढी अर्थात् ३.२५ प्रतिशत कायम भएको छ ।
