इनिशा विकको हत्या विरोधमा प्रदर्शन, दोषीलाई कडा कारबाही माग

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा भएको यस घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै देशभर विरोध चर्किएको हो।

प्रदर्शनमा सहभागीहरूले ‘महिला शोषणविरुद्ध एक हौँ’, ‘सत्ताहरू फेरिरहन्छन्, दलितहरू मरिरहन्छन्’, ‘बलात्कारीलाई कारबाही गर’ र ‘जात व्यवस्था मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

देशभर महिलामाथि बढ्दो हिंसा र हत्याका घटनाको विरोध गर्दै पीडित परिवारलाई न्याय दिलाउन युवा र दलित अधिकारकर्मीहरूले प्रदर्शन गरेका हुन्।

गत फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जङ्गलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनीसँगै रहेका वीरेन्द्रनगर-९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशङ्कामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *