महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता लवन न्यौपानेले बुधबार दायर गरेको उक्त मुद्दाको सुनुवाइ आगामी १ चैत आइतबारका लागि तोकिएको छ।
गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको एक कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी रिट निवेदनमा गरिएको छ।
बस्नेतले न्यायाधीशहरू विभिन्न बहानामा प्रक्रिया ढिला गर्ने, दबाब र प्रलोभनमा पर्ने तथा न्याय प्रणाली नै वैदेशिक आक्रमणमा परेको जस्ता गम्भीर आरोप लगाएका थिए।
रिट निवेदनका अनुसार बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीशहरू फोन अफ गर्ने, पन्छिने र न्याय प्रक्रियालाई आतंकित पार्ने’ भनी सार्वजनिक रूपमा अदालतको मानमर्दन गर्ने काम गरे।
उनले ‘हाम्रो न्याय प्रणाली नै जलेको छ’ भन्दै न्यायपालिकाप्रति अविश्वास फैलाउने अभिव्यक्ति दिएको जिकिर गरिएको छ।
निवेदक न्यौपानेले बस्नेतलाई अदालतको अवहेलनामा हदैसम्मको सजाय गरी निष्पक्ष न्यायालयको सर्वोच्चता कायम राख्न माग गरेका छन्।
