समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना, रास्वपा अग्रता कायमै
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य तीव्र रूपमा अगाडि बढेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मङ्गलवार बिहानसम्म देशभर कुल १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ।
पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो बलियो वर्चस्व कायम राखेको छ, जुन कुल गणना भएको मतको झण्डै आधा हिस्सा हुन आउँछ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा देखिएको छ।
अर्कातर्फ नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत आफ्नो पक्षमा पारेको छ। ३ लाख ४८ हजार १७८ मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार ९९ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपालले १ लाख ७० हजार १३१ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० मत प्राप्त गरेका छन्।
त्यस्तै, जनमत पार्टीले ७५ हजार ७३५ मत, एकल चिह्न चकिया (जाँतो) लिएर चुनाव लडेको गठबन्धनले ६० हजार ५५१ मत, नेपाल मजदुर किसान पार्टीले ४१ हजार ८९४ मत र राष्ट्र निर्माण दल नेपालले ३७ हजार ८६२ मत प्राप्त गरेका छन्।
प्रणालीमा प्रविष्ट विवरण अनुसार राष्ट्रिय जनमोर्चाले २९ हजार २२६, नेपाल जनता संरक्षण पार्टीले २६ हजार ९९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ४७९ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले २३ हजार २६४ मत पाएका छन्।
