छापै नलागाइएका १२९ मतपत्र !
चितवन। चितवन जिल्लामा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै १० हजार मत बदर भएको छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी ९ हजार ८ सय ५४ मत बदर भएको हो। समानुपातिकतर्फ भने ६ हजार ९ सय ४५ मत बदर भएको देखिएको छ, जुन प्रत्यक्षको तुलनामा कम हो।
जिल्लाभर रहेका ४ लाख ४२ हजार ८२ मतदातामध्ये प्रत्यक्षतर्फ २ लाख ८२ हजार ६ सय ४३ मत खसेको थियो। आयोगको विश्लेषणअनुसार सबैभन्दा धेरै ९०.९७ प्रतिशत अर्थात् ८ हजार ९ सय ६५ मत एकभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाएका कारण बदर भएका छन्। यस्तै ४५० वटा मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप प्रयोग गरिएको भेटिएको छ।
मत बदर हुनुमा स्वस्तिक छाप नबुझिने हुनु, दुई चिह्नको बीचमा छाप लगाउनु, कोठाभन्दा बाहिर मतसंकेत गर्नु र मतपत्र च्यातिएको पाइनु जस्ता कारण रहेका छन्। क्षेत्र नम्बर २ मा एक जना मतदान अधिकृतको हस्ताक्षर नभएका कारण पनि मत बदर भएको पाइएको छ।
१२९ मतपत्रमा छाप नै छैन
निर्वाचनमा सहभागी भएर पनि १२९ जना मतदाताले कुनै पनि चिह्नमा मतसंकेत नगरी खाली मतपत्र बाकसमा खसालेका छन्। यसरी खाली मतपत्र छाड्नेमा क्षेत्र नम्बर २ का ७८ र क्षेत्र नम्बर ३ का ५१ जना रहेका छन्। क्षेत्र नम्बर १ मा भने कोही पनि मतदाताले खाली मतपत्र नछाडेको आयोगले जनाएको छ।
