‘एमालेको नीति र नेतृत्व अस्वीकृत भयो, अब नयाँ बहस’
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमार्फत जनताले पार्टीको मौजुदा नीति र नेतृत्वलाई अस्वीकृत गरेको स्वीकार गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अब पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनको बहस सुरु गर्नुपर्नेमा जोड दिएका हुन्।
‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन्, यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले लेखेका छन्। उनले पार्टीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण गरेर मात्र जनसमर्थन पुनः आर्जन गर्न सक्ने उल्लेख गरेका छन्।
गत भदौ २३ र २४ गतेको घटनापछि पार्टीले लिएको नीतिप्रति आफूले पहिले नै असहमति राखेको स्मरण गर्दै उनले ती विषयमा फेरि खुला बहस हुनुपर्ने बताएका छन्।
पार्टीको हारलाई ‘ढलेको’ तर ‘नमरेको’ संज्ञा दिँदै भट्टराईले सही नीति, सङ्गठन र नेतृत्वमार्फत एमाले फेरि उठ्ने विश्वास व्यक्त गरेका छन्।
उनले पार्टीका सम्पूर्ण कार्यकर्तालाई आत्मभर्त्सनाको साटो आत्मसमीक्षाको बाटोमा हिँड्न र संयम रहन अपिलसमेत गरेका छन्।
