१५० क्षेत्रको नतिजा आयो, १५ मा मतगणना हुँदै
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी छ।
सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै ११६ स्थानमा जित हासिल गरिसकेको छ। गणना भइरहेका १५ मध्ये १० स्थानमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।
प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि सोही पार्टीको पक्षमा ठूलो जनलहर देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार रास्वपाले समानुपातिकतर्फ १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरी आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ।
यस निर्वाचनमा पुराना र ठूला दलहरूको नतिजा भने निराशाजनक देखिएको छ। नेपाली कांग्रेसले हालसम्म १७ स्थानमा मात्र जित निकाल्न सकेको छ भने समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत पाएको छ।
नेकपा (एमाले) ले ७ स्थानमा विजय प्राप्त गरेको छ भने ३ स्थानमा उसको अग्रता छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ पुगेको छ।
अन्य दलहरूमध्ये नेपाली कम्युनिष्ट पार्टीले ६ स्थानमा जित र १ स्थानमा अग्रतासहित २ लाख ५१ हजार ८६४ समानुपातिक मत ल्याएको छ।
श्रम संस्कृति पार्टीले २ स्थान जितेर १ स्थानमा अग्रता बनाउँदै ८१ हजार ८३८ मत प्राप्त गरेको छ। त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा जित निकालेका छन्।
समानुपातिकतर्फ राप्रपा र अन्यले १ लाख ३६ हजार ११ मत प्राप्त गरेका छन्। बाँकी क्षेत्रको नतिजा पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।
