भोलि साँझसम्म सबै नतिजा आउने
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा ढिलाइ भएको मुगुबाहेक देशभरका अन्य ७६ जिल्लामा मतगणना कार्य सुचारु छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले मुगुमा शनिबार बिहान मात्र मतपेटिका ढुवानी गरिएकाले गणनामा केही ढिलाइ भएको जानकारी दिए। त्यहाँ सर्वदलीय बैठकपछि आज अपराह्न ४ बजेदेखि गणना सुरु गर्ने तयारी छ। यस्तै, सङ्खुवासभा र गोरखाका विकट क्षेत्रबाट पनि आजै बिहान हेलिकोप्टरमार्फत मतपेटिका ल्याइएपछि गणना सुरु भइसकेको छ।
हालसम्म ५४ जिल्लाको प्रारम्भिक मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रत्यक्षतर्फको गणना सम्पन्न भएका क्षेत्रहरूमा क्रमशः समानुपातिकतर्फको गणना पनि अघि बढाइएको छ। समानुपातिकतर्फ हालसम्म करिब ३ लाख मत गणना भइसकेको छ।
आज रातिसम्म अधिकांश निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउने र भोलि आइतबार साँझसम्म देशभरकै परिणाम सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ। निर्वाचनपछिको यो नतिजाले नयाँ सत्ता समीकरण र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
