मेरो देश अवश्य माथि उठ्नेछ

मेरो देश एकदिन अवश्य माथि उठ्नेछ।
यी सारा द्वन्द्व र संशयहरूभन्दा माथि
ऊ माथि देखिने बादलभन्दा पनि माथि
त्यो गौरवले शिर उठाउने
सगरमाथाभन्दा पनि माथि
सगरमा चम्कने ती चम्किला
जुनताराहरूभन्दा चम्किलो हुनेछ
विश्व मानकमा एकदिन मेरो देश।

सधैँ रातको मात्र प्रभुत्व रहँदैन कदापि
रातले नै सुनौलो बिहानी ल्याउँछ
अँध्यारो नै उज्यालोको जननी हो
घनघोर बादल फोरेर पानी बर्सनेछ
र आकाश खुल्नेछ
अनि चारैतिर फैलिनेछ स्वच्छता
त्यसै गरी मेरो देश एकदिन
अवश्य खुल्नेछ
त्यही खुला आकाशजस्तै।

चेतनाका बहावहरूले
कलुषित सोचहरू पखालिनेछन्
आशाका बीजहरू मासिनु हुन्न
स्नेहपूर्वक रोपिनुपर्छ आशाका बीजहरू
अनि उम्रनेछन् र हुर्कँदै जानेछन्
आत्मीयताका घना वृक्षहरू
जसको शीतलताले
मेटिनेछन् द्वन्द्वका सारा राप र तापहरू
शान्तिको ध्वनिले
गुञ्जायमान हुनेछ मेरो देश।

अनि कुनै दिन अवश्य उदाउनेछ
एउटा स्वर्णिम आभायुक्त युगीन सूर्य
जसको प्रतापमा
कुनै कलुषित सोचले मस्तक उठाउन सक्ने छैन
जहाँ मुस्कानहरू मात्र फैलिनेछन् धरामा
मासिनेछन् सारा दम्भ, द्वेष र क्षुब्धताहरू
सबैले सबैलाई आत्मीय आलिङ्गन गर्नेछन्
एकदिन मेरो देश अवश्य माथि उठ्नेछ।


प्रतिक्रिया

2 thoughts on “मेरो देश अवश्य माथि उठ्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *