देशभर मतदान शान्तिपूर्ण : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।
मतदान प्रक्रिया सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद दिएका हुन्।
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार र निर्वाचन आयोगको सराहना गरेका छन्। उनले मतदानमा सक्रियताका साथ सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने देशभरका सम्पूर्ण मतदाताहरूप्रति आभार प्रकट गरे।
“देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग र मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाताहरूलाई धन्यवाद,” उनले लेखेका छन्।
यसैगरी, उनले निर्वाचन कार्यमा अहोरात्र खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई पनि धन्यवाद ज्ञापन गरे। ओलीले निर्वाचनमा खटिएका आफ्नो पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूको सक्रियतालाई पनि उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका छन्।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओलीले यस पटकको निर्वाचनलाई ‘मुलुकको समृद्धिका लागि निर्णायक’ भन्दै आएका छन्। उनको यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँगको कडा प्रतिस्पर्धालाई देशभर निकै चासोका साथ हेरिएको छ।
