कोशीमा ५२ प्रतिशतभन्दा बढी मत खस्यो
विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा प्रारम्भिक विवरण अनुसार ५२.४८ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार यो संख्यामा केही फेरबदल हुन सक्ने भए पनि समग्रमा मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ।
कोशी प्रदेशमा रहेका कुल ३५ लाख ७४ हजार ३१० मतदातामध्ये १८ लाख ७६ हजार ५० जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। झन्डै १६ लाख ९८ हजार मतदाता भने विभिन्न कारणले मतदानमा सहभागी भएनन्। प्रदेशभर १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्रहरू तोकिएका थिए, जहाँ बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १४ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएकाले कुनै अप्रिय घटना बिना निर्वाचन सम्पन्न भएको हो। निर्वाचन सफल बनाउन २८ वटा निर्वाचन क्षेत्रमा २५ हजार ७६४ जना कर्मचारी र उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। यस पटकको निर्वाचनमा कोशी प्रदेशबाट ४९५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
विशेष गरी झापा र मोरङका निर्वाचन क्षेत्रहरूमा देशभरकै ध्यान केन्द्रित भएको छ। झापा क्षेत्र नम्बर ५ मा करिब ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ भने मोरङका ६ वटै निर्वाचन क्षेत्रमा पनि मतदानको दर औसतभन्दा बढी देखिएको छ। अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरी मतगणना स्थलतर्फ लैजाने काम भइरहेको छ।
