निर्वाचनमा देखिएको जनसहभागिता लोकतन्त्रप्रतिको प्रतिबद्धता : गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देखिएको देशव्यापी जनसहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको अटल प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको बताएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै सभापति थापाले मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका हुन्।

मतदाताको सक्रियताले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाएको उल्लेख गर्दै उनले यसले राजनीतिक दल र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताए। “यहाँहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “यसले अब बन्ने सरकारलाई जनताका चाहना पूरा गर्न थप जवाफदेही बनाउने छ।”

केही क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै थापाले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। साथै, निर्वाचन सफल बनाउन अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले निर्वाचन पछिको परिणामले मुलुकलाई नयाँ गति दिने विश्वास समेत व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *