ओली-बालेनको क्षेत्रमा करिब ७० प्रतिशत मतदान
दमक। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभरकै सबैभन्दा रोचक प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नम्बर ५ मा उत्साहजनक मतदान भएको छ।
निर्वाचन अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा ५ बजे मतदान सकिँदा करिब ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यसअघि अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार ६१ प्रतिशत मतदान भएको थियो। यो जिल्लाको औसत ५९.६७ प्रतिशत भन्दा बढी हो।
यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीचको मुख्य प्रतिस्पर्धालाई देशभर निकै चासोका साथ हेरिएको छ।
बिहान साढे १० बजे नै २५ प्रतिशत मत खसेको यस क्षेत्रमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत र साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भइसकेको थियो।
अन्तिम समयसम्म लाइनमा रहेका मतदाताहरूको संख्या हेर्दा यो प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन्। यो क्षेत्रमा दमक नगरपालिका, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जका केही वडाहरू पर्दछन्।
मतदान अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रका १८५ वटै मतदान केन्द्रमा मतदान प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण रह्यो।
सुरक्षा संवेदनशीलताका कारण बालेन झापा आउन नसके पनि उनका समर्थकहरूको उत्साह भने मतदान केन्द्रहरूमा प्रष्ट देखिएको थियो।
अहिले मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयले राति अबेरसम्म सबै मतपेटिका सङ्कलन गरी आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ।
