बुवालाई मतदान केन्द्र लैजाँदै गर्दा छोराको मृत्यु
सांकेतिक तस्बिर
ओखलढुङ्गा। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित आइतबारेमा मोटरसाइकल दुर्घटना भएको छ। मतदान गर्न जाने क्रममा भएको यस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
स्थानीय वडाध्यक्ष हेमराज राईका अनुसार मतदान केन्द्रतर्फ पैदल जाँदै गर्दा लडेर घाइते भएका जोरधन राईलाई उपचारपछि पुनः मतदानका लागि महादेवस्थान माध्यमिक विद्यालय लैजाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा जोरधनका छोरा धनराज राईको घटनास्थलमै मृत्यु भएको छ। धनराज आफ्ना घाइते बुवालाई सहारा दिएर मोटरसाइकलको पछाडि बसेका थिए।
दुर्घटनामा जोरधन राई गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक पाण्डव राई पनि घाइते भएका छन्। गम्भीर घाइते जोरधनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
