मतदान
फाइल तस्बिर
काठमाडौँ। मुलुकको संसदीय इतिहासमा अर्को एउटा महत्त्वपूर्ण अध्याय थप्दै आज बिहीबार देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ।
बिहान ७ देखि साँझ ५ बजेसम्म चल्ने यस मतदान प्रक्रियाले आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्नेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो । यसपटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ।
निर्वाचनमा एक करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुँदैछन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजारभन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचनलाई समावेशी बनाउन आयोगले महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष प्राथमिकताको व्यवस्था गरेको छ।
मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य भए पनि परिचयपत्र नहुनेहरूका लागि नागरिकता, राहदानी वा अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने लचिलो व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा बनाइएको छ। सेना, प्रहरी र म्यादी प्रहरीसहित करिब साढे तीन लाख सुरक्षाकर्मी चुनावी सुरक्षामा खटिएका छन्।
निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी परिचालित भएका छन्।
