जीवनका रङ्गहरू समेटिएको ‘इन्द्रेणी सौन्दर्य’
काठमाडौँ । नेपाली साहित्यका सिद्धहस्त स्रष्टा ज्ञानेन्द्र विवशको ५७ वटा निबन्धहरूको नवीनतम् सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ भर्खरै प्रकाशित भएको छ। सुन्दर स्वदेश प्रकाशनले बजारमा ल्याएको ५५० रुपियाँ मूल्यको यस कृतिले पाठकलाई जीवनका विविध र सूक्ष्म अनुभूतिहरूको सयर गराउँछ।
विशेष गरी प्रकृति, यात्रा, अध्यात्म, जन्म-मरण र मानव जीवनका सुख-दुःखका पाटाहरूलाई निबन्धकारले अत्यन्तै कलात्मक ढङ्गले यसमा प्रस्तुत गरेका छन्।
वरिष्ठ निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलले यस सङ्ग्रहमा सङ्कलित निबन्धहरूलाई मुख्यतया सात भागमा विभाजन गर्न सकिने बताएका छन्। उनका अनुसार यात्रा केन्द्रित, दृश्य/दृष्टि केन्द्रित, अनुभूति केन्द्रित, स्मृति केन्द्रित, फुर्सद केन्द्रित, सौन्दर्य केन्द्रित र विविध पक्षहरू यस कृतिका सबल आधार हुन्।
यद्यपि सबै निबन्धहरूको भित्री मर्म र मूलभूत विषय कुनै न कुनै रूपको सौन्दर्य नै भएकाले यसको शीर्षक ‘इन्द्रेणी सौन्दर्य’ निकै सुहाउँदो र अर्थपूर्ण देखिन्छ।
‘इन्द्रेणी सौन्दर्य’ भित्रका निबन्धहरू केवल शब्दका थुप्रा मात्र नभएर खुसी, सम्झना र आशाका उत्सवहरू हुन्। सङ्ग्रहभित्र ‘बिर्सिन नसकिने मान्छे’, ‘बिर्सेर सम्झेका यादहरू’ जस्ता प्रेमिल सम्झनाहरू छन् भने ‘टनकपुरमा दुखेको मन’ र ‘यौटा यस्तो कालो दिन’ जस्ता पीडादायी र गम्भीर विषयहरू पनि उत्तिकै सशक्त रूपमा आएका छन्।
रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थितिलाई विम्बका रूपमा प्रयोग गर्दै निबन्धकार विवशले मानवीय संवेदनाका विविध तरङ्गहरूलाई शब्दमा उतार्ने सफल प्रयास गरेका छन्।
आफ्नो कृतिबारे निबन्धकार विवशले यसलाई आफ्नो अनुभूतिको अभिलेखनका रूपमा अर्थ्याएका छन्। उनले मनले देखेका, हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूलाई शब्द-रूप दिएको बताए।
उनका अनुसार यस सङ्ग्रहमा समेटिएका विचारहरू उनका निजी अनुभूति, समयका छाप र जीवनसँगको निरन्तर संवादका प्रतिध्वनिहरू हुन्।
विशेष गरी ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको व्यस्त र भागदौडपूर्ण संसारमा मानिसलाई एकछिन रोकिन, आफैँतिर फर्कन र शान्त हुन सिकाउँछन्। विवशका यसअघि ६ वटा निबन्ध, ३ वटा नियात्रा र ५ वटा जीवनीका कृतिहरू प्रकाशित भइसकेका छन्।
विभिन्न साहित्यिक तथा कला पुरस्कारबाट सम्मानित व्यक्तित्व ज्ञानेन्द्र विवशको विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर यात्रामा आधारित नियात्रा सङ्ग्रह ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ पनि छिट्टै सार्वजनिक हुने तयारीमा छ।
