सामाजिक सञ्जालका भ्रामक प्रचारविरुद्ध सचेत रहौं : गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले आफू र आफ्नो पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

निर्वाचनको मौन अवधि सुरु हुन लाग्दा नियोजित रूपमा असत्य सूचना र ‘फेक’ भिडियोहरू फैलाइएको भन्दै उनले मतदाता र शुभेच्छुकहरूलाई सचेत रहन आग्रह गरेका हुन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्ता गतिविधि लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएको उल्लेख गरे।

“म र नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सुनियोजित रूपमा फैलाइँदै छन्,” उनले भने, “यो निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन मात्र नभई जनतालाई दिग्भ्रमित पार्ने प्रयास पनि हो।”

उनले यस्ता गलत सूचनाको प्रतिवाद गर्नका लागि दुईवटा उपाय सुझाएका छन्। पहिलो, फेसबुक, टिकटक र युट्युब लगायतका प्लेटफर्ममा पार्टी वा उम्मेदवारबारे कुनै पनि शङ्कास्पद वा ‘फेक’ सामग्री देखिएमा तुरुन्तै ‘रिपोर्ट’ गर्न उनले आग्रह गरेका छन्।

दोस्रो, कुनै पनि सामग्री शेयर गर्नुअघि त्यसको सत्यता जाँच गर्न र सनसनीपूर्ण वा भड्काउ सामग्रीको पछि नलाग्न उनले अनुरोध गरे।

सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सकिने भन्दै थापाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबैको सहयोगको अपेक्षा गरेका छन्।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा थापा यसपटक काठमाडौँ-४ छाडेर सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *