बल्ल बोले पूर्णबहादुरः पार्टीलाई जिताउन अपील

काठमाडौँ। नेपाली काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुख चिह्नमा मतदान गरी काङ्ग्रेसलाई जिताउन अपिल गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

खड्काले फागुन २१ गते बिहान ७ बजेदेखि देशभरका सातै प्रदेशमा हुने मतदानमा सहभागी हुन मतदातालाई अनुरोध गरेका छन्। उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिह्नमा स्वस्तिक छाप लगाई भारी बहुमतले विजयी गराउन हृदयदेखि नै विनम्र अनुरोध गरेका छन्। उनले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा समेत जोड दिएका छन्।

पार्टीभित्रको आन्तरिक कलहका कारण अहिलेसम्म प्रचारप्रसारमा नदेखिएका खड्काको यो अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ। गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ नेतृत्व चयन गरेपछि काङ्ग्रेसमा तीव्र विवाद छ।

१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई अवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्, जुन हाल विचाराधीन छ।

यसअघि देउवा र खड्कासहितका संस्थापन पक्षका नेताहरू चुनावी अभियानमा सक्रिय भएका थिएनन्, तर चुनावको मुखमा खड्काले सार्वजनिक रूपमै भोट मागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *