विश्व युद्धको बादल र नेपालको सन्देश: एक परदेशीको चिन्ता

के विश्व पुनः युद्धको भयावह भूमरीतर्फ धकेलिँदै गएको हो?

स्पष्ट भन्नुपर्दा, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हमला गर्नुको प्रमुख आधार सुरक्षा चिन्ता, परमाणु कार्यक्रमप्रतिको भय तथा मध्यपूर्वको शक्ति सन्तुलनसँग जोडिएको कठोर प्रतिस्पर्धा नै हो। इजरायलले यसलाई आत्मरक्षाको कदमका रूपमा व्याख्या गरेको छ भने इरानले यसलाई खुला आक्रमण र हस्तक्षेपका रूपमा लिएको छ।

दीर्घकालीन अविश्वास, भू–राजनीतिक स्वार्थ र प्रतिशोधको चक्रले यो द्वन्द्व छोटो समयमै टुङ्गिनेभन्दा पनि क्रमशः अझ जटिल र दीर्घकालीन संघर्षमा रूपान्तरण हुने संकेत देखाएको छ।

अमेरिकाको सोझो हस्तक्षेपपछि यो द्वन्द्व अब शक्तिशाली राष्ट्रहरूको शक्ति प्रदर्शनमा मात्र सीमित रहेन। यसको छाया श्रममा निर्भर तथा वैदेशिक रोजगारीमा आधारित साना देशहरूमा अझ गहिरो रूपमा पर्ने सम्भावना छ।

विशेष गरी नेपालजस्तो मुलुकका लागि यस्तो संकट केवल अन्तर्राष्ट्रिय समाचार मात्र नभई प्रत्यक्ष राष्ट्रिय सरोकार र जनजीवनसँग गाँसिएको संवेदनशील प्रश्न बन्न सक्छ। साथै, मानव सुरक्षालाई सुनिश्चित गर्न अब हामीले के कदम चाल्ने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर रूपमा उभिएको छ।

गल्फ क्षेत्रदेखि इजरायलसम्म लाखौँ नेपालीले पसिना बगाइरहेका छन्। उनीहरूको श्रमले केवल घरपरिवार मात्रै होइन, राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड नै धानेको छ। विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) ले देश चलायमान बनाइरहेको छ, यहाँसम्म कि इन्धनलगायत दैनिक आवश्यक आपूर्तिमा पनि उनीहरूको योगदान अप्रत्यक्ष रूपमा जोडिएको छ।

त्यसैले त्यही भूभाग असुरक्षित बन्दा यसको असर केवल कूटनीतिक चिन्तामा सीमित रहँदैन, यो त हरेक नेपाली समाजको पेटहुँदै मुटुसम्म आइपुग्ने घरघरको चिन्ताको विषय बन्ने निश्चित छ।

यसै दौरान नेपालमा चुनाव हुन अब एक हप्ताभन्दा कम समय बाँकी छ। नेपाल नजिकै यत्रो अन्तर्राष्ट्रिय तनाव र सम्भावित विनाशको छायाबीच हुन लागेको निर्वाचन आफैँमा निर्माण र विनाश, अथवा कुशासन र सुशासनबीचको जनमत संग्रहजस्तै मनोविज्ञान व्याप्त भएको देखिन्छ।

यस्तो संवेदनशील घडीमा बाह्य प्रभाव र घुसपैठको प्रत्यक्ष असर पर्दा नेपाली समाजको आन्तरिक शान्ति र सुव्यवस्थामा चुनावी परिणाम कस्तो आउला भन्ने अनिश्चितताले चिन्ताको बादल झन् बाक्लो बनाएको छ।

शक्ति सन्तुलनको दृष्टिले अमेरिका बलियो देखिए पनि इरानको क्षेत्रीय प्रभाव, दीर्घकालीन तयारी र गठबन्धनका कारण यो द्वन्द्व छिट्टै समाप्त हुने सम्भावना न्यून छ। इतिहास खोतल्दा पनि बुझ्न सकिन्छ, यस्ता युद्धहरू बन्दुकको आवाजसँगै समाप्त हुँदैनन्, बरु तिनले भू–राजनीतिक ध्रुवीकरण, आर्थिक अस्थिरता र मानवीय पीडालाई लामो समयसम्म तन्काइराख्छन्।

आजको विश्व व्यवस्था झन् कठोर यथार्थतर्फ उन्मुख देखिन्छ। शक्तिशाली राष्ट्रहरूको स्वार्थबीच कमजोर राष्ट्रहरूको सार्वभौमिकता सधैँ जोखिममा पर्ने यस्तो परिवेशमा, शान्तिप्रेमी नेपालले आफ्नो धैर्य नगुमाई असंलग्न, सन्तुलित र विवेकपूर्ण कूटनीतिक परम्परालाई अझ परिपक्व बनाउनु अपरिहार्य छ।

यहीबीच अर्को गहिरो सत्य पनि हाम्रो सामु छ, नेपालीहरू आज विश्वका सबै ध्रुव र शक्तिकेन्द्रसँग जोडिएका छन्। श्रम, शिक्षा, व्यापार तथा अस्थायी–स्थायी बसोबासका कारण नेपालीहरूको उपस्थिति विश्वभर फैलिएको छ।

त्यसैले कुनै पनि वैदेशिक द्वन्द्व अब केवल परराष्ट्र नीतिको विषय मात्र नभई नेपालीहरूको प्रत्यक्ष सुरक्षा र अस्तित्वसँग समेत जोडिएको मुद्दा बनिसकेको छ। यस्तो बेला गौतम बुद्धले देखाएको मार्ग झन् सान्दर्भिक देखिन्छ। संयम, संवाद, सहअस्तित्व र अहिंसाको मार्ग नै आजको आवश्यकता हो।

यसको प्रभाव नेपालको आन्तरिक राजनीतिमा पनि देखिन सक्छ। वैदेशिक रोजगारीको सुरक्षा, कूटनीतिक सन्तुलन, आर्थिक आत्मनिर्भरता र नागरिक संरक्षण अब चुनावी नाराभन्दा पनि नीतिगत बहसका मूल विषय बन्नुपर्छ। विश्वका ठूला शक्तिहरू पनि आफ्नै रणनीतिमा छन्- चीन वार्ताको पक्षमा, भारत सन्तुलनमा, रुस पश्चिमी प्रभावविरुद्ध, जापान संयम र फ्रान्स कूटनीतिक समाधानको खोजीमा छन्।

अन्ततः यो युद्धले राष्ट्रहरूको सोच र भविष्यको दिशालाई नै फेरबदल गर्ने संकेत गरेको छ। आज नेपालका लागि स्पष्ट सन्देश छ— नागरिक सुरक्षालाई केन्द्रमा राख्ने, शान्ति कूटनीतिलाई बलियो बनाउने र मानवीय मूल्यलाई राष्ट्रिय चेतनाको आधार बनाउँदै आन्तरिक एकता कायम गर्ने।

युद्धको आँधी जतिसुकै प्रचण्ड भए पनि शान्तिको मार्गले नै मानवतालाई बचाउनेछ। हाम्रो चुनाव पनि शान्तिपूर्ण र विवेकपूर्ण बनोस्, जनताले स्वतन्त्र रूपमा प्रतिनिधि छान्न सकून् भन्ने नै परदेशीको शुभकामना छ।

-टोक्यो, जापान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *