एकअर्कालाई अतिवादी र प्रमाणविहीनको संज्ञा
काठमाडौँ। नेपाली राजनीतिका दुई चर्चित पात्र नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच चुनावी सभाहरूमा घोचपेच र कटाक्षको शृङ्खला तीव्र बनेको छ।
पोखरा र चितवनमा आयोजित छुट्टाछुट्टै सभालाई सम्बोधन गर्ने क्रममा दुवै नेताले एकअर्काको नाम नलिई तर प्रहार स्पष्ट हुने गरी वाकयुद्धमा उत्रिएका हुन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै ‘अतिवादी’ को संज्ञा दिएका छन्।
थापाले भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाउन लगाएर जेलबाट भाग्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई गम्भीर अतिवादको रूपमा चित्रण गरे।
उनले कांग्रेस त्यस्तो उग्र बाटोमा नहिँड्ने प्रस्ट पार्दै अब मुलुकले यस्तो अतिवाद थेग्न नसक्ने बताए। थापाले २०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवादेखि मन्त्री भएका आफ्नै समेत सम्पत्ति छानबिन गर्नुपर्ने र गल्ती गरेको पाइए परिवारकै सदस्यलाई पनि नछोड्ने उद्घोष गरे।
‘६ सय ५८ दिन’
चितवनमा आयोजित सभामा रास्वपा सभापति लामिछानेले थापाको प्रहारको कडा प्रतिवाद गरेका छन्। सहकारी बचत रकम अपचलन प्रकरणमा आफूविरुद्ध ‘प्रमाण छ’ भन्दै हिँडेको ६ सय ५८ दिन पुग्दा पनि अहिलेसम्म केही देखाउन नसकेको भन्दै लामिछानेले थापाप्रति कटाक्ष गरे।
उनले अब आफूलाई प्रमाण नचाहिने बताउँदै विपक्षीले आफ्नो ‘अन्तिम इच्छा’ सोधेको पनि धेरै समय भइसकेको उल्लेख गरे। लामिछानेले आगामी फागुन २१ गतेको निर्वाचनमा मतपत्रमार्फत नै आफ्नो अन्तिम इच्छा र जनताको शक्ति देखाइदिने भन्दै मतदातालाई रास्वपाको पक्षमा उभिन अपिल गरे।
दुई प्रभावशाली नेताबीचको यो दोहोरीले चुनावी सरगर्मीलाई थप तताएको छ। एकातिर थापाले विधिको शासन र छानबिनको कुरा उठाइरहँदा अर्कोतिर लामिछानेले पुराना दलहरूको आरोपलाई चुनावी मैदानबाटै जवाफ दिने रणनीति लिएका छन्। यी दुईबीचको राजनीतिक टकरावले आगामी निर्वाचनको परिणामलाई समेत रोचक बनाउने देखिएको छ।
