सबैलाई मिलाएर लैजाने तागत कांग्रेसमा मात्र छ: गगन

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने सामर्थ्य कांग्रेसमा मात्रै रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक विवाद मात्र नभई राष्ट्रिय मुद्दाहरूमा समेत अन्य दललाई मिलाएर लैजाने तागत कांग्रेससँग भएको बताएका हुन्।

उनले कांग्रेसलाई मत नहाल्ने कुनै कारण नरहेको जिकिर गर्दै नेता तथा कार्यकर्ताहरूलाई घर–घरमा पुगेर रूख चिन्हमा मतदान गर्न आग्रह गर्न निर्देशन दिए। किसानको खेतमा मल पुर्‍याउनेदेखि पहाडमा बाँदर धपाउनेसम्मका विषयमा टिम बनाएर अध्ययन गरी जनतामाझ आएको उनले दाबी गरे।

“सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुहोस्, घर–घरमा जानुहोस् र हाम्रा योजनाका बारेमा संवाद गर्नुहोस्,” उनले कार्यकर्तालाई आग्रह गरे।

सभापति थापाले कांग्रेसको सबैभन्दा ठुलो शक्ति नै सङ्गठन भएको उल्लेख गर्दै नवयुवाका कुरा सुन्न र उनीहरूसँगको संवादलाई प्राथमिकता दिन जोड दिए। “नौजवानहरूले सुरुमा केही गाली गर्लान्, तर उनीहरूलाई सम्झाउनुस्,” उनले भने, “विगतका राम्रा कुरा बोक्ने र खराब कुरा छोड्ने संकल्पका साथ कांग्रेस आएको छ भनेर विश्वास दिलाउनुस्।”

उनले उत्तेजनाको राजनीति र सामाजिक सञ्जालले फैलाउने भ्रममा नपर्न समेत सचेत गराए। संसारभर छरिएर रहेका नेपाली नागरिकहरूबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको बताउँदै उनले आफूहरू माटोमा खुट्टा जमाएर केही गर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गरे।

गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने भन्दै उनले उत्पादनमुखी राजनीतिमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *