चुनाव : विश्वासको परीक्षा

चुनावको तरङ्ग फेरि गाउँ-बस्तीमा छरिएको छ। हावामा उडिरहेको धुलोसँगै आशा र अपेक्षाका रङ्गीन झिल्काहरू पनि चम्किरहेका छन्। बिहानको घामसँगै खेततिर हिँडेका किसान, बजारतिर सामान बोकेका व्यापारी, विद्यालयतिर कापी च्यापेर दौडिएका बालबालिका-सबै आफ्नै कामको मेलोमेसोमा व्यस्त छन्। तर यही व्यस्तताका बीच ढोकामा ढकढक गर्छ चुनावी स्वर।

घरदैलोमा नेता आइपुग्छन्। हात जोड्दै, खुट्टा ढोग्दै, मुस्कानको माला ओढ्दै उनीहरू जनताको आँगनमा पस्छन्। कसैको काममा सघाउँछन्। नचिने पनि गहिरो नजिकको नाता भएको फोस्रो अभिनय गर्छन्। बोलीपिच्छे मिठा शब्दको आश्वासन छर्छन्। त्यो दृश्य देख्दा लाग्छ- जनताको मन जित्न र मत पाउन कति मरिहत्ते हो! हिजोसम्म टाढा-टाढा देखिएका अनुहारहरू आज आत्मीय बनेर आँगनमै उभिएका छन्।

तर चुनावी हावा जति छिटो आउँछ, उति नै छिटो हराउँछ। मतपेटिकामा खसालिएको सानो कागजले कसैलाई जितको शिखरमा पुर्‍याउँछ, कसैलाई पराजयको पाखामा। जित्नेहरू जब कुर्सीको उकालो चढ्छन्, उनीहरूको स्मृतिबाट त्यो गाउँ, त्यो घर, त्यो धुलाम्मे आँगन विस्तारै ओझेल पर्न थाल्छ। मत दिएर जिताएका तिनै मतदातालाई समेत चिन्दैनन्। चुनावअघि हात समातेर ‘हजुरहरूको आशीर्वाद चाहियो’ भन्ने विनम्र स्वर सत्ता पुगेपछि अपरिचित भई टाढिँदै जान्छ।

अझ विडम्बना त के भने- भाषणका मञ्चमा आफ्नै योजना, आफ्नै एजेन्डाको स्पष्ट चित्र कमै देखिन्छ। बरु आरोप–प्रत्यारोपको हावा चर्को हुन्छ। एकअर्कालाई खेदो खन्ने शब्दहरू गुञ्जिन्छन्। ‘उसले केही गरेन’, ‘त्यो असफल भयो’- यिनै वाक्यहरू दोहोरिँदै जान्छन्। तर ‘म यसो गर्छु’, ‘मैले यसो गर्ने वाचा गरेँ’ भन्ने प्रतिबद्धता कतै हराइरहेको जस्तो लाग्छ।

गाली-गलौजको भाषा बोल्दै, एउटै कुरा दोहोर्‍याउँदै, जनतालाई ढाँट्दै केही उम्मेदवारहरू भोट माग्न मरिहत्ते गर्छन्। जितिसकेपछि एकचोटि फर्केर आउँदैनन्। आफ्ना सोझासिधा मतदाताले दिएको अमूल्य मत खेर गएकोप्रति अफसोस गर्छन्। परन्तु कमै नेता आफूले मत पाएर जितेकोमा आभारी भई मतदातालाई कृतज्ञता ज्ञापन गर्न पुग्छन्।

तर यस चित्रको अर्को पाटो पनि छ। कोही उम्मेदवारहरू भने हारेर पनि हार मान्दैनन्। उनीहरू फेरि गाउँ फर्कन्छन्। घरघरमा हात जोड्दै भन्छन्- ‘तपाईंहरूले भोट त दिनुभयो, तर म जित्न सकिनँ। तथापि तपाईंहरूलाई धेरै धेरै धन्यवाद।’

यो धन्यवादको स्वरमा सत्ताको मोह हुँदैन, तर सच्चाइको सानो झिल्को हुन्छ। पराजयको पीडाभित्र पनि कृतज्ञताको न्यानोपन हुन्छ। उनीहरूका आँखा झुकेका हुन्छन्, तर आत्मसम्मान अझै बाँकी हुन्छ।

चुनाव मतको खेल मात्र होइन; यो विश्वासको परीक्षा हो। जनताको मन कागजजस्तो हलुका होइन, जसलाई सजिलै मोडेर फाल्न सकियोस्। यो त खेतजस्तै हो- मिहिनेतले जोते, विश्वासले सिँचे, प्रतिबद्धताले मल हालेर मात्र फल्छ। झुटको बीउ रोपेपछि सत्यको फसल उम्रिँदैन।

यसैले चुनावी तरङ्गसँगै प्रश्न पनि उठ्छ- हामी कस्ता नेता चाहन्छौँ? हामी कुन नेता छान्छौँ? हात जोड्ने मात्र कि हातेमालो गर्ने? भाषण गर्ने मात्र कि काम गर्ने? चुनावअघि देखिने अनुहार कि चुनावपछि पनि फर्केर आउने प्रतिबद्धता बोकेको व्यक्ति? विकासको मूल फुटाउने कि आफू र आफ्नै आसेपासेको स्वार्थपूर्तिमा रातदिन मरिमेट्ने?

गाउँको धुलो, आँगनको माटो र जनताको मन- यी सबै साक्षी छन्। जित अस्थायी हुन सक्छ, तर विश्वास स्थायी हुन्छ। जो नेता जितेर पनि गाउँ बिर्सिन्छ, ऊ मात्र कुर्सीको मालिक बन्छ। ऊ ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ हुन्छ। तर जो हारेर पनि धन्यवाद दिन पुनः गाउँघर फर्किन्छ, उसले जनताको मनमा सानो भए पनि घर बनाएको हुन्छ। अन्ततः इतिहासले आलिशान कुर्सीभन्दा मनको त्यो झुपडीलाई नै बढी सम्झिन्छ।

चुनावी आकाश अझै गुञ्जिरहेको छ- ‘भोट केमा…, भोट कसलाई…, यो जित कसको…।’ तर अब त्यो गुञ्जनमा मधुरताभन्दा कोलाहल बढी सुनिन्छ। कतिपय नेताहरू गोरु डुक्रिएझैँ डुक्रिँदै हिँडिरहेका छन्- आफ्नै स्वरको भारीले थाकेका, तर नथाकेजस्तो देखिन खोज्दै। शब्दहरू उनका ओँठबाट निस्किन्छन्, तर ती शब्दमा मनको हार्दिकपन छैन; मात्र ध्वनि छ, प्रदर्शन छ। ‘मैले जितेपछि यो गर्छु र ऊ गर्छु’ भन्ने फोस्रो आश्वासन मात्र छ।

कतिपय भने मतदाताको सवाल-जवाफबाट तर्सिएका देखिन्छन्। ‘अघिल्लो चुनावमा दिएको वाचा किन पूरा भएन?’ भन्ने सरल प्रश्न उनीहरूका लागि पहाड बन्छ। आँखा चिम्लिन्छन्, अनुहारको रङ फेरिन्छ, उत्तर खोज्दा शब्दहरू ओझेल पर्छन्। वाचाहरू कागजमा सीमित भए, भाषणका मञ्चमै सुक्खा भए- तर जनताको स्मृतिमा ती अझै ताजा छन्।

जनता भुल्छन् भन्ने उनीहरूको अनुमान गलत सावित हुन्छ, जब एक वृद्ध किसान सोध्छ- ‘हामीलाई सिँचाइ दिन्छु भन्नुहुन्थ्यो, खोला त उहीँ छ, पानी उहीँ छ, तर हाम्रो खेत किन अझै सुक्खा छ? न भनेको समयमा बीउ पायौँ, न मल!’

यता केही उम्मेदवारहरू चोथाले, मुखाले स्वभाव र आवाजमा ‘अन्टसन्ट’ बोलेर अरूभन्दा आफू मात्रै योग्य र मतदाताको घरदैलोमा आई विकासको काम गर्ने क्षमता भएको भनी मतदाता फकाउने प्रयासमा छन्। उनीहरूको भाषामा स्पष्टता छैन, तर उत्साहको अभिनय छ। उनीहरू विषयभन्दा भावनालाई उत्तेजित गर्छन्, यथार्थभन्दा आश्वासनको रङ्गीन चित्र कोर्छन्। एकछिन सुन्दा लाग्छ- सबै ठीक हुँदैछ, सबै बन्नेछ। तर त्यो ‘बन्नेछ’ कहिल्यै ‘बन्दैन’ मा रूपान्तरित भइसकेको छ।

तथापि दोष नेतामा मात्र छ त? प्रश्न जनतातिर पनि फर्किन्छ। ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानझैँ, जसले आज सानो सहारा दिन्छ, भोलि त्यतैतिर मत ढल्किन्छ। कसैले चिया खुवायो, मासुभात खुवायो, कसैले सानो सहयोग गर्‍यो, कसैले मिठा शब्द सुनायो—र मत त्यतैतिर। आफ्नो एक मतको कति ठूलो मूल्य हुन्छ भन्ने हेक्का कहिलेकाहीँ हामीले राख्दैनौँ। त्यो सानो मत नै भोलिको नीति बन्छ, विकासको बाटो मोड्छ, सन्तानको भविष्य लेख्छ- तर हामी त्यसलाई सामान्य व्यवहारझैँ लिन्छौँ।

हिजो एउटालाई बचन दिन्छौँ, आज अर्कोलाई। आउने जतिको मन राखिदिनु नै पर्छ भन्ने सामाजिक संकोच पनि छ। तर मन राख्दा–राख्दै आफ्नो विवेक गुमाउनु कति उचित? चुनाव त उत्सव हो, तर विवेकको बलिदान दिने उत्सव होइन। देश, समाजमा सकारात्मक परिवर्तनको उत्सव हो, हुनुपर्छ। खासमा चुनाव त विश्वासको परीक्षा हो।

यसैले अब एकछिन गम्भीर बनेर रोकिने, सोच्ने, बुझ्ने समय आएको छ। कसले साँच्चै आफ्नो गाउँ–ठाउँमा काम गरेको छ? कसले कठिन घडीमा साथ दिएको छ? को सहयोगी छ, समाजसेवी छ, निःस्वार्थपनले प्रेरित छ? नाम र नाराभन्दा कर्मको मूल्य ठूलो हुन्छ। पार्टी हेरेर मात्र मत दिँदा समाज र राष्ट्रको उन्नति सम्भव हुँदैन। पार्टी त साधन हो, उद्देश्य होइन। उद्देश्य त समुन्नत गाउँ, शिक्षित बालबालिका, सुरक्षित, समुन्नत, शान्त समाज, रोजगारी पाएको युवा र स्वाभिमानी नागरिक नै हो।

वास्तवमा यतिबेला घरदैलो धाइरहेका नेताहरूका आश्वासनप्रति मतदाताहरू सचेत हुनैपर्छ। चुनावको यो तरङ्ग नेताको मात्र परीक्षा होइन, जनताको पनि परीक्षा हो। नेता जति जिम्मेवार हुनुपर्छ, मतदाता त्यत्तिकै सचेत हुनुपर्छ। यदि हामीले आफ्नो मतको मूल्य बुझ्यौँ भने, डुक्रिने आवाज आफैँ थामिन्छ, झुटा आश्वासन आफैँ हराउँछन्।

अन्ततः लोकतन्त्र जित-हारको कथा मात्र होइन; यो चेतनाको यात्रा हो। जब जनताले सोचेर, बुझेर, विवेकले मत दिन थाल्छन्, तब मात्र गाउँको बाटो सच्चिन्छ, राष्ट्रको दिशा उज्यालो बन्छ। र, त्यही दिन चुनावको तरङ्ग हल्ला होइन, आशाको मधुर सङ्गीतमा रूपान्तरित हुनेछ। विश्वासको परीक्षाले देश र जनताको सर्वोत्तम हितमा काम गर्ने वातावरण निर्माण हुन थाल्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *