‘गगन हराउने’ षड्यन्त्रको आरोपप्रति कोइरालाका स्वकीय सचिवको खण्डन
विराटनगर । ‘रातोपाटी’ अनलाइनमा प्रकाशित एक समाचारप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले गम्भीर आपत्ति जनाएका छन्।
उनले समाचारमा लगाइएका सबै आरोपहरू पूर्णतः असत्य, भ्रामक र कपोलकल्पित भएको बताएका छन्। निर्वाचनको संवेदनशील समयमा डा. कोइराला विरुद्ध षडयन्त्र गर्ने उद्देश्यले यस्तो प्रचार गरिएको उनको दाबी छ।
थपलियाले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टी सभापति गगनकुमार थापालाई निर्वाचनमा पराजित गराउने कथित षडयन्त्रमा आफ्नो संलग्नता रहेको भनी लगाइएको आरोप तथ्यहीन र अपुष्ट रहेको स्पष्ट पारेका छन्।
एक जिम्मेवार नेताको स्वकीय सचिवका रूपमा संगठनको मूल्य, मान्यता र अनुशासनविपरीतका कुनै पनि गतिविधिमा संलग्न हुने कुरा सोच्न समेत नसकिने उनले बताएका छन्। नेतृत्व, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि कार्यमा आफू संलग्न नरहेको कुरामा उनले जोड दिएका छन्।
यस्ता भ्रामक आरोपले व्यक्तिगत प्रतिष्ठामा मात्र नभई समग्र संगठन र लोकतान्त्रिक अभ्यासमाथि नै ठुलो आघात पुर्याउने वक्तव्यमा उल्लेख छ। समाचारमा दाबी गरिएका व्यक्तिहरूसँग आफ्नो कुनै पनि प्रकारको भेटघाट वा संवाद नभएको थपलियाले स्पष्ट पारेका छन्।
साथै, समाचारसँगै सार्वजनिक गरिएको भनिएको अडियो सामग्री समेत नक्कली र भ्रमपूर्ण भएको उनले बताएका छन्। उक्त अडियोको सत्यता पुष्टि गर्न आफू जुनसुकै बेला स्वतन्त्र फोरेन्सिक परीक्षण गराउन तयार रहेको चुनौती समेत उनले दिएका छन्।
यस विषयलाई लिएर सम्बन्धित निकायसँग कानुनी परामर्श भइरहेको र व्यक्तिगत प्रतिष्ठा एवं सत्यको रक्षाका लागि कानुनी उपचारको विकल्प खुला राखिएको उनले जानकारी दिएका छन्।
राजनीतिक रूपमा अत्यन्तै संवेदनशील समयमा यस्ता अपुष्ट समाचार आउनु दुःखद् भएको बताउँदै उनले आम जनसमुदायलाई तथ्यमा आधारित सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका छन्। ‘सत्य सधैं स्पष्ट हुन्छ’ भन्दै उनले भ्रमपूर्ण प्रचारबाट सचेत रहन पार्टी पंक्ति र शुभेच्छुकहरूलाई अपिल गरेका छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार कोइरालाले सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार थापालाई हराउन र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई जिताउन कार्यकर्ता परिचालन गरेको दाबीसहितको समाचार सार्वजनिक भएको थियो।
सोही समाचारमा थपलियाले थापालाई हराउने विषयमा कुराकानी गरेको अडियो रहेको उल्लेख गरिएपछि उनले प्रेस वक्तव्यमार्फत त्यसको औपचारिक खण्डन गरेका हुन्।
