झापामा पत्रकार अर्जुन आचार्यमाथि एमाले कार्यकर्ताद्वारा आक्रमण
विराटनगर। चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले भौतिक आक्रमण गरेका छन्।
झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा बिहीबार दिउँसो रिपोर्टिङ गरिरहेका बेला एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले आचार्यमाथि आक्रमण गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको घरदैलो कार्यक्रमलाई पछ्याउने क्रममा उक्त घटना घटेको हो। स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलामाथि अश्लील शब्द र व्यवहार प्रदर्शन गरेका थिए।
सोही दृश्यको फोटो र भिडियो खिच्न खोज्दा २५६१ नम्बरको स्कर्पियोमा आएका टोलीले आचार्यमाथि आक्रमण गरेको पत्रकार रोहित दाहालले बताए।
आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ भने उनको चस्मा समेत फुटाइदिएका छन्। आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका छन्।
अन्य पत्रकारहरूको टोलीले उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका थिए। आक्रमणपछि पनि ती कार्यकर्ताहरूले ‘दमकमा देखाइदिने’ भन्दै पत्रकारहरूलाई धम्की दिएका छन्।
कोशी प्रदेशको चुनावी रिपोर्टिङका लागि रातोपाटीबाट अर्जुन पन्त, अमृत चिमरिया, रोहित दाहाल, मनोज खड्का र अर्जुन आचार्यको टोली झापामा खटिएको छ।
निर्वाचनको समयमा सञ्चारकर्मीमाथि भएको यस आक्रमणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।
