नेपाली साहित्य परिषद् सिक्किममा पुनः ढुङ्गेल

गान्तोक । सिक्किमका वरिष्ठ साहित्यकार तथा गीतकार हरि ढुँगेल नेपाली साहित्य परिषद्, सिक्किमको अध्यक्ष पदमा पुनःनिर्वाचित भएका छन्। गान्तोकमा आज सम्पन्न संस्थाको चौधौँ कार्यकारिणी समितिको निर्वाचनबाट ढुँगेल आगामी तीन वर्षे कार्यकालका लागि चुनिएका हुन्।

कुल ४२० मतदातामध्ये २७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए, जुन ६५.९५ प्रतिशत मतदान हो। निर्वाचनले ११ सदस्यीय नयाँ कार्यकारिणी समिति गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नीलम न्यौपाने र रत्ना लक्सम सुब्बा विजयी भएका छन्। यसैगरी महासचिवमा भीम राउत र सचिव (प्रचार-प्रसार) मा हेमराज अधिकारी चुनिएका छन्।

केही महत्वपूर्ण पदहरूमा भने निर्विरोध चयन भएको छ, जसमा कोषाध्यक्षमा जी एस सुब्बा, सचिव (कला एवम् संस्कृति) मा गणेश ढुँगेल र सचिव (साहित्य एवम् पुस्तकालय) मा तुलसी घिमिरे ‘कश्यप’ छन्।

प्रशासन एवम् विधि सचिवमा लुईस बिष्ट निर्वाचित भएकी छन् भने कार्यकारिणी सदस्यका रूपमा पेम नर्बु शेर्पा र खुसेन तिम्सिना चयन भएका छन्।

परिषद्को विधानअनुसार निर्वाचित सदस्यबाहेक अन्य छ जना सदस्यहरू भने पछि मनोनित गरिने प्रावधान छ। नयाँ टोलीले आगामी तीन वर्षसम्म सिक्किममा नेपाली भाषा र साहित्यको उत्थानका लागि कार्य गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *