स्मृतिमा नमेटिएको रङ्ग

जिन्दगीको अमूल्य सौगात
तिमीले दिएको मायाको चिनो
मनमोहक प्राणप्रिय कलम
आफैँलाई जस्तै माया गरेर
छातीमा टाँसेर राख्ने गर्थेँ
सिरानीमुनि लुकाउने गर्थेँ
हराउनदेखि जोगाउने गर्थेँ
किनकि त्यही कलमले नै
जिन्दगीको कथा लेख्नु थियो
मनभित्रका व्यथा लेख्नु थियो
कैयौँ सपनालाई विपना बनाउने
बिम्ब अनि भाव मिलाउनु थियो
तिम्रो कविता बनाउनु थियो
तिम्रो सुन्दरताको प्रशंसा गर्दै
तिमीलाई मनाउनु पनि थियो
प्रेमका अनेक गीत कोर्नु थियो
त्यसमा मायाको लय भर्नु थियो
पिरतीको धुन मिसाउनु थियो
हृदयको धड्कन सुनाउनु थियो
अझै धेरै के-के लेख्नु थियो
प्रेमको उद्गार पोख्नु थियो
यसैले पनि होला सायद
त्यो कलम धेरै प्रिय लाग्थ्यो
किनकि त्यो तिमीले दिएको
अनमोल प्रेमोपहार थियो।

दैवको इच्छा अर्कै थियो
जिन्दगीले नयाँ मोड लियो
जसै भाग्यको रेखा मेटियो
आखिर बिछोडियो मबाट
नचाहेर पनि टाढा भयो
अहिलेसम्म आँखामा छ
डढेर कालो भएको रूप
नचिनिने भएको कलम
कालो रङ्ग आधा डढेको
त्यो दुर्दशाको साक्षी हुँदा
मन खिन्न भएको थियो
आफैँ एक्लो भएझैँ लाग्यो
तिमीले छोडी गएझैँ लाग्यो
तिमी टाढा भएझैँ लाग्यो
बारम्बार तिम्रो याद आइरह्यो
आँखाभरि तस्बिर छाइरह्यो
अनि हातले कुची समायो
हाँस्न खोजेजस्तो
बोल्न खोजेजस्तो
केही भन्न खोजेजस्तो
केही सोचिरहेजस्तो
अरू खै कस्तो-कस्तो
केही लजाएझैँ गरी
ठिङ्ग उभिएकी परी
गुलाबी रङ्गले भरिएकी
जूनको ज्योति छरिएकी
म डुब्दै गएँ कल्पनामा
सुन्दरतामा मोहित हुँदै
कुची चलाउँदा-चलाउँदै
रङ्गसँग खेल्दा-खेल्दै
क्यानभासमा उदायौ तिमी
जसरी तिमी थाहै नपाई
मनमा पनि उदाएकी थियौ
मेरो प्रेमकी प्रतिमा
जूनको रूपमा मेरी तिमी।

त्यही चित्र मेरो साथी भयो
मैले तिम्रो चित्रलाई
आफ्नो साथी बनाएँ
तिम्रो तस्बिरसँग
म बोल्न थालेँ
म हाँस्न थालेँ
अनि मनका भावहरू
कवितामा पोख्न थालेँ।

कैयौँ दशक बितेर गए
हाम्रो प्रेम अमर भयो
हामीलाई पढ्छन् पढ्नेहरूले
इतिहासका पन्नाहरूमा
तर तिमी अहिलेसम्म
जस्ताको तस्तै छौ
मेरो मनको आभासमा
उस्तै सुन्दर र जवान छौ
क्यानभासमा उतारिएको
चित्र र हृदयमा छापिएका
सहस्र तस्बिरहरूमा।

तिमीले दिएको उपहार
त्यस रातको दुर्घटनामा डढेर
नचिनिने भएको थियो
थाहा छ के त तिमीलाई?
अचेल म धेरै दुख्न थालेको छु
रातदिन दुखाइको क्लान्तले
अहिले म नचिनिने भएको छु।


प्रतिक्रिया

One thought on “स्मृतिमा नमेटिएको रङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *