‘साम्बा’ को पुनरागमन संकल्प: उपचारका लागि डेढ करोड संकलन
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि प्राप्त अपार माया र सहयोगप्रति आभार प्रकट गर्दै अब थप रकम संकलन नगर्न अनुरोध गरेकी छन्।
चोटका कारण उपचारमा समस्या परेपछि सुरु गरिएको अभियानमा पछिल्लो २४ घण्टामा जुटेको सहयोगले आफूलाई नयाँ जीवन दिएको उनले बताएकी हुन्।
सावित्राका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्म (गो फण्ड मी) मार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको छ।
यसबाहेक विभिन्न प्रायोजक संस्था र कतारमा रहेका नेपाली व्यक्तित्वहरूले पनि उपचारका दौरान लाग्ने आवास र यातायातमा सहयोगको वाचा गरेका छन्।
“खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया र समर्थन रहेछ भन्ने फेरि बुझेकी छु,” साम्बाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।
उनले उपचार खर्च र कतारमा बस्ने प्रबन्धका लागि पर्याप्त रकम जुटिसकेकाले आजैबाट सबै प्रकारका सहयोग संकलन रोकिदिनु हुन समर्थकहरूमा विनम्र आग्रह गरेकी छन्।
हाल उनी आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गरी उपचारमा सहजीकरण गरिरहेको उनले जानकारी दिइन्।
यो चोटले शारीरिक र मानसिक रूपमा थकाएको भए पनि नेपालीहरूको साथले आफू एक्लो नरहेको महसुस गराएको र फेरि मैदान फर्कने साहस मिलेको उनको भनाइ छ।
मैदानमा गोलको वर्षा गर्ने ‘गोल मेसिन’ साम्बाले अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिने दृढ संकल्प व्यक्त गरेकी छन्।
उनले समर्थकहरूलाई वचन दिँदै भनेकी छन्, “तपाईंहरूको यो मायाको बदला म मेरो पुनरागमन र देशका लागि जित निकाल्दै तिर्नेछु।”
