अमेरिकामा नेपालीद्वारा श्रीमती र छोरीको हत्या, आक्रमणकारी पनि मारिए
काठमाडौँ। अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्।
उदयपुरको बेलका नगरपालिका घर भई अमेरिका बस्दै आएका ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसलाई उधृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार सोमबार बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा यो घटना भएको हो।
थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत बाहिर गाडीबाट हिउँ पन्छाउँदै गर्दा घरभित्र कोलाहल सुनेपछि ९११ मा फोन गरेर भित्र पसेका थिए। भित्र श्रीमती र सासूलाई रगताम्मे अवस्थामा देखेपछि उनले बचाउन खोज्दा थापाले उनीमाथि पनि आक्रमण गरे।
प्रहरी घटनास्थल पुग्दा थापाले ज्वाइँ बस्नेतमाथि आक्रमण गरिरहेको फेला पारेको थियो। प्रहरीले पटक-पटक हतियार फाल्न दिएको आदेश नमानेपछि आत्मरक्षाका लागि गोली चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको छ।
गम्भीर घाइते भएका बस्नेतको हाल अस्पतालमा उपचार भइरहेको छ भने घरमा रहेका एक वर्षीय शिशु सुरक्षित फेला परेका छन्।
प्रहरीले यसअघि सो परिवारको कुनै आपराधिक रेकर्ड वा घरेलु हिंसाको उजुरी नरहेको जनाएको छ। घटनाको मुख्य कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अमेरिकामा नेपाली समुदायका व्यक्ति संलग्न भएका यस्ता दुःखद घटनाहरू पछिल्लो समय बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।
