समुद्री घोंघी टिप्ने क्रममा क्यानाडामा नेपाली युवकको मृत्यु
अन्टारियो। क्यानाडाको ग्रान्ड म्यानन तटमा समुद्री घोंघी टिप्ने क्रममा भएको दुर्घटनामा परी नेपाली युवा सञ्जय गुरुङको निधन भएको छ।
अटोस्पी रिपोर्ट आइन सकेकाले उनको मृत्यु डुबेर भएको प्रहरीले अनुमान गरेको त्यहाँको टेलिग्राफ जर्नलले जनाएको छ।
बेन्सन लबस्टर कम्पनीमा कार्यरत ३९ वर्षिय गुरुङको बिहीबार राति समुद्री तटमा घोंघी (पेरिविंकल स्नेल्स) संकलन गर्ने क्रममा भएको दुर्भाग्यपूर्ण दुर्घटनामा ज्यान गएको हो। दुई वर्षको वर्क पर्मिटमा गत वर्ष क्यानाडा आएका मृतक गोर्खाको शहिद लेखनाथ नगरपालिका वार्ड नम्बर २ का बासिन्दा हुन्।
प्रहरीका अनुसार बिहीबार राति करिब ९:३० बजे क्यास्टालिया मार्स नजिकैको तटबाट दुई जनालाई उद्धार गरिएको थियो। तीमध्ये सञ्जय गुरुङको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक नेपाली कामदारको अवस्था अहिले स्थिर छ। उनको भने नाम सार्वजनिक गरिएको छैन।
राम्रो भविष्यको सपना बोकेर विदेशिएका श्रमिकहरूका लागि यो निकै कठिन समय भएको भन्दै बेन्सन लबस्टर कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।
सञ्जयको पार्थिव शरीर नेपाल लैजानका कामदारदाता कम्पनीले प्रक्रिया अगाडि बढाएको बताइएको छ। कम्पनीले मृतकका परिवारलाई आवश्यक भावनात्मक र आर्थिक सहयोग जुटाउन समन्वय गरिरहेको बताएको छ।
यस कठिन घडीमा पीडित परिवारलाई आर्थिक सहयोग पुर्याउन सो कम्पनीले १० हजार डलरको लक्ष्यसहित ‘गोफण्डमी’ मार्फत आर्थिक संकलन अभियान समेत सुरु गरेको छ।
बेन्सन लबस्टरले आफ्नो समुदायलाई सञ्जयको परिवार र घाइते सहकर्मीका लागि प्रार्थना गरिदिन र सहयोगका लागि सिधै सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
एनआरएन क्यानाडाका अध्यक्ष जगन सापकोटाले संस्थाका स्थानीय प्रतिनिधि तथा स्थानीय नेपाली समुदायले पनि आवश्यक सहयोग गरिरहेको जानकारी दिए।
‘नेपाल टच’ बाट
