सूर्योदयको पालटाङ्गेमा ट्रकले किच्दा एक जनाको मृत्यु

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका-७ पाल्टाङगेमा सोमबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिर्तामोडबाट इलाम आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-५ का ५० वर्षीय मनोज चौधरीको ज्यान गएको हो।

बिहान करिब ११:३५ बजे मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी मोटरसाइकलबाट सडकमा लडेका थिए। सोही समयमा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ। मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ भने उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने स्थितिमा रहेको जानकारी प्राप्त भएको छ।

प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *