पोतालाको आँगनमा भृकुटीको पाइला पछ्याउँदा
सन् २००९ को जुलाई अन्त्यतिर हामी चीनको चङ्गचउ सहरबाट छिङ्गहाई तिब्बत रेलवे हुँदै नेपाल फर्कने क्रममा तिब्बत प्रवेश गरेका थियौँ। समुद्री सतहबाट करिब ४००० मिटरभन्दा माथिको उचाइमा अवस्थित यो रेलमार्ग विश्वकै सबैभन्दा अग्लो रेलमार्गमध्ये एक मानिन्छ।
कम अक्सिजन, उच्च भू-बनोट अनि अधिकांश समय हिउँ जमिरहने भएकाले पनि तिब्बतमा रेल सञ्चालन गर्न सकिँदैन भन्ने धारणा थियो तर सन् २००६ मा चीनले निकै तामझामका साथ यो रेलमार्ग सञ्चालनमा ल्याएको थियो।
हामी चार जना नेपालीको एउटा समूह बनाएर निकै उत्साहित हुँदै यो रेलयात्रा तय गरेका थियौँ। अत्यधिक मागका कारण टिकट सजिलै उपलब्ध नभएकाले हामीले ३६ घण्टा बसेर यो लामो यात्रा पूरा गर्नु परेको थियो। रेलमा आरामदायी सिट, अक्सिजनको सुविधा र अन्य आवश्यक व्यवस्थाहरू भएकाले यात्रा सहज भएको थियो।
चीनमा अध्ययन गर्ने क्रममा हामीले त्यहाँका सुलभ र सुविधाजनक रेलयात्राको अनुभव गर्दै विभिन्न स्थानहरू घुमिसकेका थियौँ। रेलयात्रामा अभ्यस्त भएकाले पनि यो लामो यात्रामा खानाको समस्या नहोस् भनेर हामीले केही सुक्खा खानेकुरा साथै चियाका सामग्रीहरू साथमा बोकेका थियौँ।
रेलभित्र स्थानीय मानिसहरूको भिड थियो। कतिपय उभिएर त कतिपय भुइँमा बसेर यात्रा गरिरहेका थिए। उनीहरूका लागि यो रेल केवल यातायातको साधन मात्र नभएर जीवनलाई सजिलो बनाउने एउटा माध्यम पनि थियो।
पहिले तिब्बतीहरूले याक, घोडा वा पैदलै कठिन हिमाली बाटो पार गरेर यात्रा गर्थे। बाटो बनेपछि बसहरू पनि चल्थे तर हप्तौँ लाग्ने। रेलमार्गले गर्दा यात्रा छोटो र सहज भएको कुरा सँगै यात्रा गर्ने स्थानीयले बताएका थिए।
यात्राको समय निकै लामो भएकाले कहिले उनीहरूसँग गफिन्थ्यौँ त कहिले निद्राले झुपुझुपु हुन्थ्यौँ। कहिले झ्यालबाट बाहिरको रमाइलो दृश्यमा हराउँथ्यौँ। समयसँगै दृश्यहरू पनि बदलिँदै गए।
हरिया खेतबारी, पुराना शैलीका घरहरूले भरिएका पातला बस्ती, परपरसम्म फैलिएका फाँटहरू पार गर्दै रेल क्रमशः उचाइमा चढ्दै गयो। केही बेरमै तिब्बती पठार सुरु भइसकेको रहेछ।

क्षितिजसम्म फैलिएको नीलो आकाश, सुनसान तर सुन्दर सुक्खा घाँसे मैदान, नागबेलीझैँ बगेका खोला, पठारभरि छरिएका चौँरीका बथान, चारैतिर घेरिएका डाँडाकाँडा अनि कतै उराठलाग्दो नाङ्गो डाँडा।
यी सबै दृश्यहरू मानौँ क्यानभासमा कोरिएका चित्रझैँ देखिन्थे। प्रकृतिको विविधता हेरेर नअघाइने, फोटोमा उतार्न नसकिने तर आँखामा र स्मृतिमा झलझली बस्ने।
लामो रेल यात्रापछि हामी ल्हासा रेलवे स्टेसनमा पुग्यौँ। त्यहाँ पुगेपछि एकाएक टाउको घुमाएको जस्तो र हिँड्दा खुट्टा लरबरिए जस्तो महसुस भयो। सायद हामी उच्च उचाइको प्रभावमा थियौँ।
वातावरणसँग अनुकूल हुनका लागि केही बेर त्यहीँ एउटा ठाउँमा बस्यौँ। नजिकै होटलमा गएर केही बेर सुस्तायौँ। त्यहाँको होटलका साहु-साहुनी नेपालका थकाली जस्ता देखिन्थे। नेपाल पनि आउने-जाने गर्ने र नेपालीहरू पनि त्यहीँ आएर बस्ने भएकाले उनीहरू टुटेफुटे नेपाली बोल्ने र बुझ्ने रहेछन्।
तिब्बती संस्कृतिमा आतिथ्य र सम्मानमा घिउ चिया खुवाउने चलन भएकाले हामीलाई पनि घिउ र नुन हालेको चिया दिए। त्यहाँको मौसम र उचाइसँग अनुकूलन गर्न खायौँ तर खासै स्वादिलो लागेन।
हामी तिब्बती इतिहास, धर्म र संस्कृति अनि विश्व सम्पदा सूचीमा सूचीकृत “पोताला दरबार” हेर्न गयौँ। सातौँ शताब्दीमा तिब्बतका ३३औँ राजा श्रोङ्चोङ्ग गम्पोले डाँडामा यो दरबारको निर्माण सुरु गरेका रहेछन्।

राजा श्रोङ्चोङ्ग गम्पोले नेपाली तारा भृकुटीसँग विवाह गरेका थिए भन्ने कुरा हामीले इतिहासमा पढेका थियौँ। शताब्दी बिते। मूल दरबार उजाड भएर हराए।
पछि १७औँ शताब्दीमा पाँचौँ दलाई लामाको समयमा यो दरबारले पूर्णता पाएको रहेछ। यिनै पाँचौँ दलाई लामाले यसलाई आध्यात्मिक-राजनीतिक केन्द्रका रूपमा स्थापित गराएका रहेछन्।
जब हामी पोताला दरबारको अगाडि पुग्यौँ, त्यहाँ परम्परागत पोसाक (चुबा) लगाएका महिला तथा पुरुषहरू हातमा माला समात्दै मन्त्र जपिरहेका देखिन्थे।
उनीहरू दरबारतर्फ फर्केर भुइँमा लम्पसार परेर श्रद्धापूर्वक प्रार्थना गरिरहेका थिए। मरपो री डाँडाको शिखरमा उभिएका सेता र राता भवन भएको यो दरबारले हरेकका आँखालाई लोभ्याउँछ।

शुल्क तिरेर र त्यहाँको कडा अनुशासनलाई पालना गर्दै हामी पोताला दरबारभित्र जाँदा मनमा अनौठो उत्साह र कौतूहलता थियो। नोबेल शान्ति पुरस्कारबाट सम्मानित दलाई लामाको निवासस्थानलाई आफ्नै आँखाले नजिकबाट नियाल्न पाउनु हाम्रा लागि जीवनकै एक अविस्मरणीय अवसर थियो।
हामी बिस्तारै उकालो चढ्दै, वरपरको शान्त र रमणीय वातावरणमा हराउँदै, दरबारको भव्यता र आध्यात्मिकताको अवलोकन गर्दै दरबार भित्र पुग्यौँ। दरबारको भित्री भागमा प्रवेश गरेपछि ठुल्ठूला चित्रकलाहरू, परम्परागत थाङ्काहरू र बहुमूल्य रत्नहरूले सजिएका कलाकृति र संरचनाहरूतर्फ हामी आकर्षित भयौँ।
विभिन्न बहुमूल्य रत्नहरू तथा फिरोजा र मुँगा कुँदिएका सुनका थामहरू तथा मोती, माणिकले सजिएका समाधिस्थलहरू, गुरु रिन्पोछेका मूर्तिहरू, शान्त मुद्रामा धार्मिक ग्रन्थहरू पढिरहेका अनुयायीहरू।
यी दृश्यहरू अकल्पनीय लागिरहेका थिए मानौँ हामी कुनै वृत्तचित्र हेरिरहेका छौँ। उचाइले हो वा अत्यधिक धुपका सुगन्धहरूले हो बेला-बेलामा निसासिएको जस्तो महसुस हुन्थ्यो। पोताला दरबारका हरेक कुनामा इतिहास र आध्यात्मिकताको सुन्दर सङ्गम झल्किन्थ्यो।
पोताला दरबार तिब्बती कलाको उत्कृष्ट नमुना हो। “ल्हासामा सुन छ कान मेरो बुच्चै” भन्ने कथन सानैदेखि सुन्दै आए तापनि त्यहाँ पुगेपछि “पोतालामा सुन र रत्न छ कान मेरो बुच्चै” भनी परिवर्तन गर्नुपर्छ भन्ने कुरा मनमनै बर्बराएँ।

पोताला दरबारको अवलोकनपछि हामी तिब्बती बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जोखाङ मन्दिर पुग्यौँ। जोखाङ मन्दिर नजिकै रहेको ‘बरखोर सडक’ मा केही समय घुम्दा ढुङ्गाले छापिएका गल्लीहरू, फरफराइरहेका रङ्गीचङ्गी झण्डाहरू, माला घुमाउँदै लम्पसार परेर प्रार्थना गर्ने भक्तजनहरू, मन्त्रहरूको मधुर गुञ्जन, सडकको दायाँबायाँ साना-साना पसलहरू, परम्परागत तिब्बती हस्तकला, लुगा, गहना, धार्मिक सामग्रीहरू र स्थानीय परिकारहरूको विविधता भएको बजार देख्दा हामीलाई काठमाडौँको बौद्ध क्षेत्रमा पुगेको जस्तो अनुभूति भयो।
केही समय त्यहाँको स्थानीय बजार पनि अवलोकन गर्यौँ। यहाँका स्थानीय तिब्बतीहरूलाई देख्दा फरक भूगोलका मानिस हुन् कि भन्ने पनि लाग्यो। यात्रा गर्दा मानिस, संस्कार, संस्कृति, परम्परा, भेषभूषा, भाषा, खाना आदिमा विविधता त भेटिन्छ नै र यिनै कुराहरूले हरेक ठाउँलाई फरक पनि बनाउँछन्।

त्यहाँ देखिएका स्थानीयहरूको वर्ण पनि हामीले देख्दै आएको मुख्य भूमि चीनका मानिसभन्दा फरक देखिन्थे। “तिमी कालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्दै नओढ्नाले” भन्ने गीत मिले जस्तै, उच्च उचाइ र अल्ट्राभायोलेट किरणको प्रभाव साथै सीमित आयस्रोत र दैनिक कठोर मौसमसँगको सङ्घर्ष गर्नुपर्ने भएकाले होला, त्यो सङ्घर्ष उनीहरूको अनुहारमा प्रष्ट झल्किन्थ्यो। उनीहरू राता वर्णका पनि देखिन्थे।
ल्हासाबाट नेपाल फर्कने क्रममा जिपबाट यात्रा गर्दा ५००० मिटरभन्दा माथिको उच्च उचाइमा रहेका ग्यात्सो ला पास पार गर्दै शिगात्से पुगेका थियौँ। शिगात्से उत्तरी सगरमाथा आधार शिविरतर्फ जाने प्रमुख प्रवेशद्वार पनि हो। शिगात्सेबाट सेता हिमालका शृङ्खलाका साथै प्राकृतिक दृश्यहरू असाध्यै सुन्दर देखिएका थिए।
जिपमा यस्तो लामो यात्रा हाम्रो लागि पहिलो अनुभव थियो। पहाडी बाटो, रातको समय अनि मनसुनको मौसमले थपेको चुनौती। कतै पहिरो खसेको आवाजले मन खङ्ग्रङ्ग बनाउँथ्यो। कतै बरररर माटो खसिरहेको आवाजले बाटो बन्द भएर अलपत्र परिने हो कि भन्ने भय। तर घर फर्किने उत्साह र अनुभवी चालक भएकाले त्यो भयलाई दबाएर हामी निरन्तर अघि बढिरह्यौँ।
हामीले धैर्यका साथ यो यात्रा ५-६ दिन लगाएर पूरा गर्यौँ। तातोपानी नाका पुगेपछि मात्र तन र मन दुवै स्वस्फूर्त हल्का भएको महसुस भएको थियो। चीनदेखि काठमाडौँसम्मको यो यात्रा जीवनभर सम्झिरहने एउटा अविस्मरणीय स्मृति भयो।

सुन्दर एवं जानकारीमुलक नियात्रा वर्णन।
बधाई। लेखनीमा निरन्तरता कायम रहोस।
Beautiful and informative travel writing.
Congratulations Bhanji. Keep it up.
Very Nice article, Sirjana, keep it up. I have been there, amazing arts and Crafts, well-maintained. Zokhang temple is constructed by Nepali artisans. Imagine during that era!! I have yet to travel by train though it is in my bucket list.