पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ झापा साइकलमा’
बिर्तामोड। झापा साइक्लिङ क्लबले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम फागुन ३०, चैत १ र २ गते गरी दुई रात तीन दिनसम्म सञ्चालन हुनेछ।
दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानका रूपमा यो कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए। उनका अनुसार कार्यक्रममा झापाका विभिन्न १२ वटा पालिकाहरूको भ्रमण गरिनेछ।
यस्तो छ तीन दिनको यात्रा तालिका
पहिलो दिन: यात्रा ६० किलोमिटरको हुनेछ। पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु हुने यो यात्रा बाहुनडाँगी, ४९ धारा, मदन भण्डारी राजमार्ग, बर्ने चिया बगान, अर्जुनधारा जलेश्वरधाम र जामुनखाडी सिमसार हुँदै दोमुखामा पुगेर टुंगिनेछ।
दोस्रो दिन: ८० किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरिएको छ। दोमुखाबाट सुरु भई माईधार, चिल्लागढधाम, शिवगञ्ज, हुलाकी मार्ग, झापा बजार र जलथल जंगल हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा विश्राम हुनेछ।
तेस्रो दिन: अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ। बनियानीबाट किच्चकबध, भद्रपुर र हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा पुगी कार्यक्रम समापन गरिनेछ।
क्लबका सचिव हिमाल खरेलका अनुसार यात्रामा ५० जना साइकलयात्री र २० जना प्राविधिक तथा स्वयंसेवक टोली रहनेछन्। समावेशी सहभागिताका लागि यात्रामा कम्तीमा २० प्रतिशत महिला र २० प्रतिशत झापा बाहिरका सहभागीलाई समेटिने लक्ष्य राखिएको छ।
यो कार्यक्रमले झापालाई साइकल पर्यटनको गन्तव्यका रूपमा चिनाउनुका साथै स्थानीय होटल, होमस्टे र अर्थतन्त्रलाई टेवा पुर्याउने विश्वास गरिएको छ। शून्य–फोहोर पर्यटन र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्दै सीमा क्षेत्र, धार्मिक तथा सिमसार क्षेत्रलाई जोड्न यसले मुख्य भूमिका खेल्ने आयोजकले बताएका छन्। पर्यटन कार्यालय काँकरभिट्टा यस कार्यक्रमको मुख्य प्रवर्तक रहेको छ।
