अलैँची र मुसुरो दालको निर्यातमा उत्साहजनक वृद्धि
झापा। झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा अलैँची निर्यातमा उल्लेख्य सुधार आएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेर ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ पुगेको छ।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा ४ हजार १५३.१५ मेट्रिकटन अलैँची भारततर्फ निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँको मात्र निर्यात भएको थियो। अलैँचीको व्यापार चम्किए पनि अर्को मुख्य वस्तु चियाको निर्यातमा भने २६.७० प्रतिशतले गिरावट आएको छ। माघ मसान्तसम्म २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँको मात्र चिया निर्यात भएको छ, जबकि अघिल्लो वर्ष यो ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ थियो।
चियासँगै प्लाउड निर्यातमा ४०.९० प्रतिशत र अम्रिसो निर्यातमा २४.९० प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ। यद्यपि, मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने निकै उत्साहजनक छ। विशेष गरी मुसुरो दालको निर्यातमा ३१६.२० प्रतिशतको विशाल वृद्धि देखिएको छ। त्यस्तै अदुवा र सुठो १०१.८० प्रतिशत, जडीबुटी ९२.९ प्रतिशत र भेनियर सिट ९१.१० प्रतिशतले बढेका छन्।
भन्सार तथ्याङ्क अनुसार छुर्पीको निर्यात ६३.३० प्रतिशत र तरकारी (काउली, ब्रोकाउली, बन्दागोपी) ३६.१० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको सात महिनामा मेची भन्सार कार्यालयबाट कुल १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको नेपाली मालवस्तु विभिन्न देशमा निर्यात भएको छ।
