संखुवासभाको रिदाक केन्द्रबिन्दु भएर भूकम्प

विराटनगर। संखुवासभा जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७:३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु संखुवासभाको विकट उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाको रिदाक छ। संखुवासभा र त्यस आसपासका विभिन्न स्थानहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो। केन्द्रले यसको तीव्रता मध्यम स्तरको रहेको बताएको छ।

भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रहरी र प्रशासनले भूकम्प प्रभावित क्षेत्रमा भएको क्षतिको बारेमा बुझ्ने र जानकारी संकलन गर्ने काम गरिरहेका छन्।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपासलाई केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना तथा मझौला खालका भूकम्पहरू निरन्तर गइरहेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *