पाठकमाझ नियात्राकार उप्रेतीको ‘चीन यात्राका यादहरू’
काठमाडौँ। नेपाली नियात्रा साहित्यमा नियात्राकार नन्दु उप्रेतीले आफ्नो नयाँ कृति ‘चीन यात्राका यादहरू’ सार्वजनिक गरेका छन्। शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच यस नियात्रा सङ्ग्रहको विमोचन गरिएको हो।
फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपाल नामक संस्थाले प्रकाशन गरेको यस पुस्तकमा उप्रेतीले आफ्नो चीन भ्रमणका विविध प्रसङ्गहरूलाई समेटेका छन्। पुस्तकमा चीनको राजधानी पेइचिङ, व्यापारिक केन्द्र साङहाई र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमण अनुभवहरूलाई नियात्राको रूपमा प्रस्तुत गरिएको छ।
संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुस्तकको समीक्षा प्रा.डा. गोविन्द मानसिंह कार्कीले गरेका थिए। समीक्षाका क्रममा कार्कीले यो सङ्ग्रहले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र भौगोलिक अवस्थाको सजीव चित्रण गरेको बताए। उनले पुस्तकमा चिनियाँ जनताको जीवनशैली र त्यहाँको चामत्कारिक विकासलाई रोचक र साहित्यिक शैलीमा उतारिएको उल्लेख गरे।
सङ्ग्रहमा जम्मा २० वटा नियात्राहरू समावेश छन्। समीक्षक कार्कीका अनुसार सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक मिलनले गर्दा यो कृति नेपाली पाठकका लागि एउटा महत्वपूर्ण उपहार बनेको छ। लेखक उप्रेतीले चीन यात्राका क्रममा देखेका, सुनेका र अनुभव गरेका कुराहरूलाई इमानदारीपूर्वक पाठकमाझ ल्याउने प्रयास गरेको बताए।
कविता, बालसाहित्य र साहित्यिक अनुसन्धानमा समेत सक्रिय उप्रेतीको यो तेस्रो नियात्रा सङ्ग्रह हो। यसअघि उनका ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ गरी दुईवटा नियात्रा कृतिहरू प्रकाशित भइसकेका छन्।
