होली गीत ‘होरी’ : राजेश हमाल र उषा खड्कीको अभिनय
काठमाडौं। गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको नयाँ होली गीत ‘स्वरान होरी’ को भिडियो सार्वजनिक भएको छ। सुदूरपश्चिममा प्रचलित मौलिक भाकालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कृष्ण र उनको टोलीले यो गीत बजारमा ल्याएका हुन्।
भिडियोमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज महर्जन र बिन्दिया बुढाथोकीको दमदार अभिनय देख्न सकिन्छ। भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई उजागर गरेको निर्माण पक्षले दाबी गरेको छ।
निर्देशक सरोज खड्काले सुदूरपश्चिमको कला र संस्कृतिलाई विश्वसामु पुर्याउन लामो समयको प्रयासपछि ‘होरी’ तयार पारिएको बताए। भिडियोमा राजेश हमाल र उषा खड्कीमार्फत सुदूरको मौलिकपनलाई प्रस्तुत गर्ने काम गरिएको छ।
राम अबिरल विष्टको शब्द र दीपक आरजेको संगीत रहेको यस गीतलाई पवन सुस्लिङले छायांकन गरेका हुन्। मिलन श्रेष्ठको सम्पादन र देउ सिंह ओराको कोरियोग्राफी रहेको यो गीत गायक कृष्ण विकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
