निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन प्रधानमन्त्रीको निर्देशन
बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी आसन्न निर्वाचनको तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज बिहान रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन्।
छलफलमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्टले प्रदेशका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावी तयारी र सुरक्षा योजनाबारे प्रस्तुतीकरण दिए। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रीका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
छोटो अवधिमा निर्वाचनको वातावरण तयार पारेको र सुरक्षा योजना बनाएको भन्दै प्रधानमन्त्री कार्कीले सम्बद्ध अधिकारीहरूलाई धन्यवाद दिएकी छन्। उनले सन्तोष व्यक्त गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी कडा निगरानी राख्न समेत सचेत गराएकी छन्। केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिमाथि पूर्ण ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिइन्।
