समताका विद्यार्थीले देखाए गायन-नृत्य कला
इटहरी । सुनसरीको इटहरी, हलगडास्थित समता स्कुलले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। समता पूर्वी कन्सोर्टियमको आयोजनामा सोही अवसरमा छैटौँ अन्तर-समता गायन तथा नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ।
इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेशकुमार साहको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा समता स्कुल इलामका संरक्षक एवं वरिष्ठ कवि बिमल वैद्य, पोखराका संयोजक उमेश रेग्मीसहित विभिन्न विद्यालयका प्रिन्सिपल र समाजसेवीहरूको उपस्थिति थियो। आयोजकका अनुसार कार्यक्रममा ४ सयभन्दा बढी अभिभावकसहित करिब १ हजार २ सय जनाको सहभागिता रहेको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई १४ विभिन्न विधामा पुरस्कृत गरेको छ। जसमा पर्वती पुरी ‘उत्कृष्ट अभिभावक’, कक्षा ९ की मनिता राई ‘स्टुडेन्ट अफ द इयर’ र सरोज कार्की ‘कम्युनिटी च्वाइस’ शिक्षकका रूपमा सम्मानित भए। १० वर्षभन्दा बढी समयदेखि कार्यरत शिक्षकहरू र संस्थापक सदस्यहरू देवेन्द्र पौडेल तथा कमल सिङ्तानलाई पनि विशेष सम्मान गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन र कलाका साथै विज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका थिए। पूर्वी कन्सोर्टियमअन्तर्गत इलाम, झापा, लहान, विराटनगर र इटहरीका ५३ जना प्रतियोगीबीच भएको गायन तथा नृत्य प्रतिस्पर्धामा इटहरीका प्रतियोगीहरू प्रथम र इलामका प्रतियोगीहरू द्वितीय भए। एकल नृत्यतर्फ दमककी प्रतिभा फुयालले तृतीय स्थान हासिल गरिन्।
यसैगरी पहिलो पटक आयोजना गरिएको उद्घोषण प्रतियोगिता ‘माइक मास्टर-सिजन १’ मा इटहरीकी मेलिना फुयाल प्रथम भइन्। गायनतर्फ दिपेन्द्र राई, नृत्यमा मनोज खड्का र उद्घोषणमा विशाल आले मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता अन्तरजिल्ला प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै समता स्कुलले समाजमा उदाहरणीय काम गरिरहेको भन्दै अतिथिहरूले विद्यालयको प्रशंसा गरेका थिए।


