बालेनविरुद्ध उजुरी : नागरिकता रद्द र कारबाहीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता रद्द गर्न माग गर्दै शुक्रबार युवराज सफलले मन्त्रालयमा उजुरी दिएका हुन् । उनको उजुरी दर्ता समेत भइसकेको छ ।

उनले उजुरीमा भनेका छन्,’काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साहले मिति २०६३ पौष ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बर रहेको वंशजको नागरिकता लिएको निजको नागरिकतामा थर साह उल्लेख गरिएको तर निजले काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट मिति २०७९ असार १९ गतेका दिन नागरिकताको प्रतिलिपि लिँदा भने आफ्नो थरमा शाह उल्लेख गरेको देखियो । निज बालेन्द्र साहले झुटो विवरण (थर)परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएर, नागरिकता ऐन, २०६३ सम्बन्धी कसुर गरेकोले निजलाई नागरिकता ऐन सम्बन्धी हदैसम्मको कारबाही गर्न प्रस्तुत निवेदन पेस गरेकाे छु ।’

कुनै पनि नेपाली नागरिकले तथ्य र कारणसहित आफ्नो थर परिवर्तन गर्न चाहेकोमा नेपाल नागरिकता ऐन २०६३ को दफा (१७) सोही अनुसारको कानुनी व्यवस्था गरेको बताउँदै सफलले उजुरीमा भनेका छन्,’अत: बालेन्द्र साहले आफ्नो थर परिवर्तन गर्न चाहेको खण्डमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा निवेदन दिएर थर परिवर्तन गर्न पाउने व्यवस्था छ । तर निजले नागरिकता ऐनको दफा (१७) को प्रक्रिया पूरा गरी वा नगरी कसरी आफ्नो थर परिवर्तन गरेका हुन् । सो बारेमा आवश्यक अनुसन्धान गर्न आवश्यक देखिन्छ।’

बालेनले २०७९ असार १९ गतेका दिन नागरिकता प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेस गरेका सक्कल फाइल उपर समेत अनुसन्धान गर्नुपर्ने युवराज सफलले उजुरीमा उल्लेख गरेका छन्।

बालेनले लिएको झुटो विवरणको नागरिकता रद्द गरी निजलाई नेपाल नागरिकता ऐन २०६३ बमोजिम हदैसम्मको कारबाही गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन्। बालेन्द्र साहलाई तत्काल पक्राउ गरी नागरिकता रद्द गर्न र पाँच वर्षसम्म कैदका साथै १ लाख जरिवाना गर्न समेत माग गरिएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *