विश्वकपबाट बाहिरिएका नेपाल र स्कटल्यान्ड प्रतिष्ठाका लागि भिड्दै
काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा भर्खरै सम्पन्न टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
प्रतियोगितामा यसअघि नै तीन खेल हारिसकेको नेपाल र दुई हार बेहोरेको स्कटल्यान्ड दुवै टोली सुपर-८ को दौडबाट बाहिरिसकेका छन् । त्यसैले आजको यो खेल दुवै टोलीका लागि विश्वकपमा सान्त्वना जित दर्ता गर्दै घर फर्किने र प्रतिष्ठा जोगाउने अवसर मात्र रहनेछ । नेपालले यसअघि इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय बेहोरेको थियो भने स्कटल्यान्डले इटालीलाई मात्र पराजित गरेको छ ।
नेपालले आजको खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ । अनुभवी तीव्र गतिका बलर करण केसीको स्थानमा युवा ब्याटर सन्दीप जोरालाई मैदान उतारिएको छ । २४ वर्षीय जोराले मध्यक्रममा ब्याटिङ सम्हाल्नेछन् । सन् २०१९ मा डेब्यु गरेका जोराको यो दोस्रो टी-२० विश्वकप यात्रा हो ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा र लोकेश बम रहेका छन् । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको बलिङ फर्म आज नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
