एमालेलाई सिध्याउन देशमै आगो लगाइयो : ओली
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा समाप्त पार्न देशका विभिन्न ठाउँमा नियतवश आगो लगाइएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा मंगलबार मतदाताहरूसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
विरोधी शक्तिहरूले जतिसुकै षड्यन्त्र र आक्रमण गरे पनि फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमाले नै पहिलो पार्टी बन्ने दाबी उनले गरे । ‘नेकपा एमाले सिध्याउन देशमै आगो लगाए,’ ओलीले आक्रोश पोख्दै भने, ‘एमाले विरोधी शक्ति र व्यक्तिहरूले कान खोलेर सुने हुन्छ- नेकपा एमाले फागुन २१ गतेको निर्वाचनबाट पहिलो पार्टी भएर निस्कन्छ ।’ एमालेले पूर्ण बहुमत नल्याए पनि सबैभन्दा ठूलो दल बन्नेमा ढुक्क रहन उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।
देशमा भइरहेका पछिल्ला अराजक गतिविधि र लुटपाटका घटनाप्रति लक्षित गर्दै उनले यस्ता कार्य गर्नेहरूलाई नेपाली भन्न पनि लाज हुनुपर्ने बताए । सार्वजनिक र राज्यको सम्पत्ति तोडफोड गर्नेहरू आन्दोलनकारी नभई अपराधी र आतंककारी भएको उनको ठहर छ । ‘आगजनी गर्नु, अरूको र राज्यको सम्पत्ति तोडफोड गर्नु नेपालीको पहिचान होइन,’ उनले भने, ‘नेपाली गरि खाने जाति हो, लुटेर खाने होइन ।’
अध्यक्ष ओलीले अगाडि थपे, ‘जसले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने प्रयास गरे, तिनीहरू देशका दुश्मन हुन् ।’ विकासका संरचनाहरू भत्काएर वा जलाएर देशमा कुनै पनि हालतमा क्रान्ति हुन नसक्ने भन्दै उनले यस्ता समूहलाई निर्वाचनमार्फत जनताले नै जवाफ दिने बताए ।
