मछिन्द्रले जित्यो झापा गोल्डकपको उपाधि

बिर्तामोड। मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको उपाधि हात पारेको छ। अधिकांश झापाली खेलाडी सम्मिलित मछिन्द्रले पहिलोपटक यो प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो।

उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

खेलको ३१ औँ मिनेटमा प्रदिप बुढाथोकीले मछिन्द्रका लागि पहिलो गोल गरे भने ४५ औँ मिनेटमा फ्रयाङक अनोह र ८३ औँ मिनेटमा अलिसन अलिजोनोभले थप गोल गर्दै जित सुनिश्चित गरे। एपिएफका लागि खेलको ८२ औँ मिनेटमा दिपेश धिमालले एक गोल फर्काएका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ घोषित भई मोटरसाइकल प्राप्त गरे। यस्तै, विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक र जोनाथन जोरिल्ला उच्च गोलकर्ता बने।

उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए। विजेता तथा उपविजेता टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र बिर्तामोडका जनप्रतिनिधिहरूले पुरस्कार वितरण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *