टी-२० विश्वकप: वेस्ट इन्डिजविरुद्ध पहिलो जितको खोजीमा नेपाल
-क्यान
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। यो रोमाञ्चक खेल भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।
प्रतियोगितामा लगातार दुई हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा मैदान उत्रँदैछ भने वेस्ट इन्डिज आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले हार बेहोरेको थियो।
प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरसम्म कडा संघर्ष गरे पनि नेपालले जित हात पार्न सकेन। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको अप्रत्याशित हार बेहोरेपछि टोली दबाबमा परेको छ। त्यसैले विश्वकपको यात्रालाई जीवित राख्न आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
वेस्ट इन्डिजले भने सुरुआती दुवै खेल जित्दै उत्कृष्ट सुरुआत गरेको छ। बलियो ब्याटिङ लाइनअप र आक्रामक खेलशैलीका कारण वेस्ट इन्डिज निकै लयमा देखिएको छ। नेपालसँगको खेलमा पनि टोली उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने देखिन्छ।
विश्वकपअन्तर्गत आजै अन्य रोमाञ्चक खेलहरू पनि हुँदैछन्। दिउँसो नामिबिया र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ भने साँझ क्रिकेट जगतकै बहुप्रतिक्षित भिडन्तका रूपमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
