शिवरात्रि र मृगस्थली

शिवरात्रि नजिकिँदै गर्दा मृगस्थली चिन्तनले मलाई पनि अलि बेचैन बनायो । मनभित्र कताकता एउटा आवाज आयो- एकपटक फेरि पशुपति पुग्नैपर्छ । केही दिनअघि म त्यतै पुगेँ । पुगेको थिएँ- पाशुपत-परिवेशले परितृप्त हुन दर्शनका लागि, तर फर्कँदा अनुभूतिहरूको भारी बोकेर आएँ ।

पशुपति क्षेत्र त्यतिबेला तीर्थ र जीवनबिचको खुल्ला पाठशाला जस्तो देखिन्थ्यो । शिवका भक्तजनहरूको निरन्तर आउजाउ हुन्थ्यो । कोही भाकल फुकाउन, कोही पीडा बिसाउन, कोही समयसँग कुरा गर्न । मन्दिर परिसरमा गुञ्जिएको घण्टीको ध्वनि, धूपको बासना र भक्तजनहरूको अनुहारमा टाँसिएको आशा–निराशाको मिश्रणले एउटा रहस्यमय दृश्य बनाएको थियो । शिव यहाँ मूर्तिमा मात्र थिएनन्, भीडको हरेक सासमा थिए । आफ्ना भक्तजनका पीडा पिउन तत्पर भइरहेझैँ लाग्छ ।

कसैको आवाज मनमनै गुञ्जिरहेको थियो । कसैको आवाज गुञ्जयमान थियो । पशुपति क्षेत्रभरि, मृगस्थली वनभरि ! पशुपति क्षेत्र शिवरात्रिको स्वागतमा फूलका सुन्दर मालाले सुनमाथि सुगन्ध थप्दै सजाइएका प्रवेशद्वारहरू, भक्तजनका सुविधाका स्थानहरू, भजन, प्रवचन, फूलप्रसाद, पूजाआजाका सामानहरू थिए ।

पशुपति पारि, बागमती किनारमा ‘बम भोले बाबा, जय भोले बाबा !’ ‘ॐ नमः शिवाय !’ भन्दै ‘जय श्री पशुपतिनाथ, हर हर महादेव !’ को गुञ्जनमा आवाजहरू आवाजमा मिसिँदै अनौठो ध्वनि–तरङ्गमा वातावरण एक प्रकारले उल्लासमय लाग्थ्यो । साधुसन्तको धुनीजाग्रामको अर्को उल्लास त्यहाँ विद्यमान थियो ।

तल बागमती किनारको आर्यघाटमा दाहसंस्कारको क्रम चलिरहेको थियो । आगो बलिरहेको थियो- शरीरका लागि, तर प्रश्नहरू आत्माका लागि । एक छेउमा जीवन सकिँदै थियो, अर्कोतिर जीवनलाई फेरि अर्थ दिन खोजिँदै थियो । काठको चिरचिर आवाज, दनकुटी आगो बलेर जीवनलाई जलाइरहेको थियो । जीवनलाई खरानी बनाइरहेको थियो । आगोमा जीवन जलेर अस्तित्व अब समाप्त भइसकेको थियो । मलामीहरूको मौनता एकातिर र बागमतीमा बग्दै गरेको खरानी अनि धुवाँ बनेर आकाशमा बिलीन हुँदै गरेको जीवन्त प्राण–पखेरुको अस्तित्व !

अन्ततः यी सबैले मलाई एउटा कठोर सत्य सम्झाइरहेका थिए– शिवरात्रि जाग्रामको रात मात्र होइन, यो सम्झनाको रात पनि हो । यहाँ मृत्यु डरलाग्दो हुँदैन, बरु जीवन झन् गहिरो देखिन थाल्छ ।

त्यही बागमती किनारमा सन्ध्याकालीन आरती सुरु भयो । दीपहरू बले, शङ्ख बज्यो, मन्त्र गुञ्जिए । आरती साङ्गीतिक उत्सव उज्यालो रङमा परावर्तित हुँदै गर्दा लाग्यो– समय आफैँ आरतीमा बसेको छ । एउटै दृश्यभित्र शोक पनि थियो, श्रद्धा पनि; विदाइ पनि थियो, स्वागत पनि । आरती–आराधना आफैँमा जीवन अध्यात्मको एक पवित्र अनुष्ठानसमेत थियो । आरती आनन्दमा डुबिरहेका भक्तजनहरूको भीडाभिड थियो । शिवको दर्शन शायद यही हो– विरोधाभासलाई पनि समेट्ने विशालता ।

आरतीसँगै अलि पर पलेटी कसेर बसेका बाबाजीहरू देखिन्थे । आगोको धुनी जगाएर, शरीरमा खरानी र चन्दन घसेर, घाँटीमा रुद्राक्षको माला, जिउँदै सर्पको माला, टाउकोमा जटाधारी नागा बाबाहरू आफ्नै तालमा थिए । कोही ध्यानमा, कोही हाँसोमा, कोही आफ्नै सुरमा । गाँजा, भाङ खाएर मस्त देखिने ती बाबाजीहरू बाहिरबाट हेर्दा अराजक जस्ता लाग्थे, तर भित्र कतै एउटा प्रश्न बलिरहेको थियो– के यही मुक्तिको अर्को भाषा हो ? समाजले अनुशासन भन्छ, शिवले स्वीकृति दिनुहुन्छ । यही फरक हो शायद !

उनीहरूलाई यो स्वार्थी संसारसँग कुनै लिनु दिनु थिएन । उनीहरूको आफ्नै निःस्वार्थ र निर्मल संसार थियो । आफ्नै वर्तमान थियो । यसैमा उनीहरू मस्त थिए । ‘फुक्काफकिर’ भएर आफ्नै संसारमा ‘मस्तमौलाना’ भई हराइरहेका थिए ।

त्यसभन्दा माथि, मृगस्थली जङ्गलको हरियालीभित्र फेरि अर्कै संसार थियो । त्यहाँ मृत्युको धुवाँ थिएन, आरतीको कोलाहल थिएन । त्यहाँ हाँसो थियो, फुसफुस थियो, हात समाउने साहस थियो । प्रणय जोडीहरू रमाउँदै हिँडिरहेका थिए– कसैको आँखामा भविष्य, कसैको स्पर्शमा वर्तमान । मृगस्थली यहाँ प्रेमको वन बनेको थियो । शिवरात्रिको ठीक उल्टो प्रतीक जस्तो ! जहाँ संसार छोड्ने अभ्यास हुन्छ, त्यहीँ संसार सुरु गर्ने आकांक्षा पनि पलाइरहेको थियो ।

त्यो क्षण मलाई लाग्यो– वास्तवमा ‘मृगस्थली चिन्तन’ यही हो । तल घाटमा अन्त्य, बीचमा आरती र बाबाजीहरूको वैराग्य, अनि माथि प्रेम र जीवनको उत्सव ! एउटै भूगोलमा जीवनका सबै तहहरू जो कति सन्तुलित कति समसामयिक र कति सुन्दर !

डा. दुर्गाप्रसाद भण्डारीले किन मृगस्थलीलाई चिन्तनको केन्द्र बनाए ? त्यो दिन अलि स्पष्ट भयो । यहाँ प्रेम भाग्दैन, मृत्यु डरलाग्दो हुँदैन र राजनीति पनि नग्न भएर उभिन बाध्य हुन्छ ।

शिवरात्रि नजिकिँदै गर्दा मृगस्थलीले मलाई चिन्तित बनाएको थियो, तर फर्कँदा मन शान्त भयो । किनकि मैले बुझेँ– शिवरात्रि एउटा रात मात्र होइन, यो जीवनलाई सँगाल्ने दृष्टि हो । मृगस्थली त्यो दृष्टिको अभ्यासस्थल हो, जहाँ मानिस कहिले मृग बन्छ, कहिले शिव खोज्छ, र कहिले मान्छे भएर प्रेम गर्न सिक्छ ।

पशुपतिनाथको शिरोभागमा फैलिएको मृगस्थली वन क्षेत्रसँगै काठमाडौंको चेतनामा उम्रिएको एउटा जीवित रूपक हो । ‘श्लेषमान्तक’ वन भनेर पुराणले चिनाएको यो ठाउँ आज पनि बाबाजी, सन्त–महात्मा, धुवाँ, धूप, डमरु, मृग, बाँदरको क्रीडास्थलको संगम बनेर उभिएको छ । शिवरात्रिको अघिल्लो साँझ यहाँको हावा पनि अलि गह्रौँ हुन्छ– जस्तो कि कुनै पुरानो स्मृतिले सास फेरिरहेको होस् ।

यही मृगस्थलीलाई केन्द्रमा राखेर वरिष्ठ साहित्यकार डा. दुर्गाप्रसाद भण्डारीले मिनाक्षीलाई सम्बोधन गर्दै लेखेका पत्र–निबन्धहरू मेरो स्मृतिमा बारम्बार फर्कन्छन् । ती लेखाइहरू प्रेमका साधारण अभिव्यक्ति मात्र थिएनन् । ती प्रेमभित्र समाजको ऐना थियो, संस्कृतिको धड्कन थियो, सम्बन्धहरूको जटिल व्याकरण थियो र राजनीति जस्तो कठोर र झुटो आश्वासनको विषयसमेत मानवीय संवेदनामा पगालेर प्रस्तुत गरिएको थियो । मृगस्थली उहाँका लागि भूगोल थिएन, एउटा चिन्तन–भूमि थियो, एउटा प्रेमिल अनुभूतिको फराकिलो पाटन थियो, जहाँ बसेर मानिस, समय र सत्ता सबैलाई एकै नजरले हेरिन्थ्यो ।

आज उहाँ हामीबिच हुनुहुन्न । तर अचम्म के छ भने, उहाँ नहुनु तर उहाँका विचार हुनु एउटै कुरा रहेनछ । मृगस्थली जस्तै उहाँका लेखाइहरू पनि मौन छन्, तर त्यो मौनता बोलिरहेको छ । कहिले प्रेमको स्वरमा, कहिले समाजप्रतिको चिमोटाइमा, कहिले राजनीतिप्रतिको व्यङ्ग्यात्मक खिसिट्युरीमा । उहाँका पत्र–निबन्धहरू पढ्दा लाग्छ– मृगस्थलीका रुखहरू पनि कुनै समय उहाँका सहपाठी र मृगहरू साक्षी थिए ।

शिवरात्रिको सन्दर्भले मृगस्थलीलाई अझ अर्थपूर्ण बनाइदिन्छ । शिव यहाँ देवता मात्र होइनन्, चेतनाको प्रतीक वैराग्य र करुणाको सन्तुलन पनि हुन् । मृगस्थली पनि त्यही सन्तुलन हो । एकातिर महानगरको कोलाहल, अर्कोतिर वनको शान्ति । एकातिर राजनीति र स्वार्थका धुवाँ, अर्कोतिर धूप र ध्यानको सुवास ! डा. भण्डारीले यही द्वन्द्वलाई मृगस्थली चिन्तनमा उतारेका थिए– मानिस कति सजिलै मृग बन्छ र कति कठिनाइले मानव ?!

आज शिवरात्रिमा जब पशुपतिका घाटहरूमा आगो बल्छ, साधुहरूको स्वर गुञ्जिन्छ, तब मृगस्थलीमाथि पनि एउटा अदृश्य दीप बालिएको जस्तो लाग्छ । त्यो दीप स्मृतिको हो । डा. दुर्गाप्रसाद भण्डारीका विचारहरू त्यही दीपको उज्यालो हुन्, जसले प्रेमलाई निजी अनुभूति बनाएर राख्दैन । अपितु, त्यसलाई समाजसँग गाँस्छ; संस्कृतिलाई अतीत बनाइराख्दैन, वर्तमानसँग जोड्छ ।

मृगस्थली आज पनि उस्तै छ– जीर्ण बन्दै गइरहेका रुख उस्तै, सिँढी र बाटा उस्तै, आकाश उस्तै । तर हरेक शिवरात्रिमा त्यो अलि बढी अर्थवान् हुन्छ । किनकि यहाँ साधुहरूको भेला मेला जस्तै लाग्छ । भारतदेखि पैदलै श्रीपशुपतिनाथको दर्शनमा आएका ती साधुसन्त अलख निरञ्जनको भाका गाउँछन् । पशुपतिको अनन्य भक्त आफूलाई ठानी गाँजामा झुमिरहेका हुन्छन् । यहाँ स्मृतिहरू पूजा गर्छन्, विचारहरू धूप चढाउँछन् र मेरा निबन्धहरू मौन मन्त्र जस्तै जपिन्छन् । डा. भण्डारी नहुनु एउटा यथार्थ हो, तर मृगस्थलीमा उहाँको चिन्तन अझै घुमिरहेको छ– शिवको जटा जस्तो, समयभन्दा पर, तर समयभित्रै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *