यस्तो छ महाशिवरात्रिमा पशुपति क्षेत्रको विशेष सुरक्षा योजना
काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने दर्शनार्थीको अत्यधिक भिडलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा र ट्राफिक योजना तयार पारेको छ।
आइतबार पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनलाई सहज आवागमन र दर्शनको वातावरण मिलाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा पार्किङ र वैकल्पिक मार्गको व्यवस्था गरेको छ।
पार्किङका लागि तोकिएका स्थानहरू
भक्तजन र सवारीको प्रकृति अनुसार ट्राफिक प्रहरीले छुट्टाछुट्टै पार्किङ स्थल तोकेको छ। सिफल चौरमा दर्शनार्थीका सवारी, पासवाहक सवारी र सुरक्षाकर्मीका सवारी साधन पार्किङ गरिनेछ। गुहेश्वरी पारीको क्षेत्रमा तीर्थयात्री र दर्शनार्थीका सवारी साधनका लागि स्थान छुट्याइएको छ।
पशुपति क्षेत्र विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पास भएका सवारी साधन मात्र पार्किङ गर्न पाइनेछ। तिलगंगा आँखा अस्पताल र करिडोर क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी साधन राख्ने व्यवस्था मिलाइएको छ।
वनकाली क्षेत्रमा भने शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधन मात्र रहने छन्। प्रहरी वृत्त गौशालामा पासवाहक र सरकारी सवारी साधनका लागि पार्किङ तोकिएको छ।
आवागमन र वैकल्पिक मार्गको व्यवस्था
उपत्यकाका विभिन्न नाकाबाट आउने भक्तजनको सुविधाका लागि ट्राफिक प्रहरीले निर्वाध आवागमनको प्रयास गर्ने बताएको छ। गौशाला क्षेत्रमा भिडका कारण चक्रपथमा सवारी चलाउन कठिन भएमा मात्र सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। यसका लागि करिडोर र भित्री सडकहरूमा ठुलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिनेछ।
चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन चलाउन दिइने भए तापनि भिड अत्यधिक भएमा तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्धबाट गौरीघाटतर्फ र पुरानो बानेश्वरबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई रोक लगाइनेछ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ गराइनेछ।
यदि गौशाला चोकमा सवारी चल्न नसक्ने अवस्था आएमा चाबहिल, पुरानो बानेश्वर, रातोपुल र सिफल चौरबाट गौशालातर्फ आउने सवारी साधनलाई वैकल्पिक मार्गमार्फत डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
