वन्दनीय वसन्त
वसन्त एउटा ऋतु होइन, यो प्रकृतिको हृदयमा बज्ने मधुर बाँसुरी हो। जाडोको कठोर श्वासपछि पृथ्वीले फेरि एकपटक मुस्कुराउने क्षण हो– त्यो मुस्कान, जसले सुषुप्त सपनाहरूलाई ब्युँझाइदिन्छ। रूखका नाङ्गा हाँगामा हरियालीको अक्षर लेखिदिन्छ र मानिसका मनभित्र थाकेको विश्वासलाई पुनः जागृत गरिदिन्छ। त्यसैले त वसन्त मेरो लागि वन्दनीय छ– आराध्य छ, श्रद्धेय छ।
हिउँदले जब बगैँचाका फूलहरूलाई शिथिल पार्छ, खेतका डिलहरूलाई सुनसान बनाउँछ, तब लाग्छ– जीवन केही बेरका लागि मौन छ। तर त्यो मौनता मृत्युसरह होइन; त्यो त गहिरो ध्यानजस्तो हुन्छ। र, ध्यानपछि जसरी चेतना उज्यालिन्छ, त्यसरी नै वसन्त आउँछ– नवजीवनको सन्देश बोकेर। आरुबखडाका बोटमा मुनामुजुरा अङ्कुरित हुन थाल्छन्। फूलहरू फुल्छन्। डाँडाभरि गुराँसका कोपिला पलाउँछन् र बिस्तारै रातो रङ छर्छन्। झारपातहरू समेत हरियो आत्मविश्वासमा चम्किन्छन्। प्रकृतिले आफूलाई फेरि एकपटक सजाउँछ– जसरी कुनै दुलहीले जीवनको नयाँ अध्याय सुरु गर्नुअघि शृङ्गार गर्छे।
म सधैँ सोच्छु– वसन्त किन यति प्रिय लाग्छ? सायद यसले परिवर्तनको दर्शन सिकाउँछ। जीवनमा जाडो जस्ता कठोर समय आउँछन्– असफलता, पीडा, विरक्ति र एक्लोपनका दिनहरू। तर ती सबै स्थायी हुँदैनन्। वसन्तको आगमनले भन्छ– “धैर्य गर, समय फेरिन्छ।” सुकेका पातहरू झरेर माटोमा मिसिन्छन् र त्यही माटोले फेरि हरियो जीवन जन्माउँछ। पीडाले नै आशाको बीउ उमार्छ भन्ने सत्यलाई वसन्तले प्रत्यक्ष देखाइदिन्छ।
वसन्त प्रेमको पनि ऋतु हो। चराहरूको गीतमा अनुराग मिसिन्छ, हावाको स्पर्शमा स्नेह हुन्छ र मानिसको आँखामा चमक थपिन्छ। यो ऋतुमा प्रकृति र मनुष्यबीचको दूरी घट्छ। खुला आकाशमुनि हिँड्दा लाग्छ– म पनि कुनै विशाल काव्यको एउटा पङ्क्ति हुँ। हावाले कपाल छुन्छ, घामले अनुहार तताउँछ र मनमा कुनै पुरानो स्मृति फक्रिन्छ। वसन्तले हामीलाई बाहिरको सौन्दर्य मात्र होइन, भित्रको सौन्दर्य पनि देख्न सिकाउँछ।
वसन्तको अर्को विशेषता यसको विनम्रता हो। यो हल्ला गरेर आउँदैन; न त आँधीझैँ गर्जिन्छ। चुपचाप कोपिला फुलाउँदै, बिस्तारै सुवास छर्दै यसले आफ्नो उपस्थिति जनाउँछ। यही शालीनता नै यसको गरिमा हो। यसले सिकाउँछ– साँचो परिवर्तन शान्त हुन्छ, तर प्रभावशाली हुन्छ।
मेरा जीवनका अनेक वसन्तहरू छन्– केही सम्झनामा, केही यात्रामा, केही सम्बन्धहरूमा। कहिलेकाहीँ कुनै पुरानो मित्रको भेट वसन्तजस्तै लाग्छ; कहिलेकाहीँ कुनै सृजनात्मक क्षण, जब शब्दहरू आफैँ फुल्न थाल्छन्, त्यो पनि वसन्त नै हो। वसन्त बाहिरको ऋतु मात्र होइन, भित्रको अवस्था पनि हो– जब मनमा आशा पलाउँछ, जब दृष्टिमा उज्यालो छर्छ, जब भविष्यप्रति विश्वास जाग्छ।
यसैले, वसन्त वन्दनीय छ। यो फूलहरूको रङ्गीन उत्सव होइन; यो धैर्य, पुनर्जन्म र प्रेमको दार्शनिक पाठ हो। जाडोको कठोरता सहेर पनि जीवन मुस्कुराउन सक्छ भन्ने प्रमाण हो। जब–जब वसन्त आउँछ, प्रकृतिको अगाडि, समयको अगाडि र जीवनको अद्भुत चक्रको अगाडि म नतमस्तक हुन्छु। किनकि वसन्तले सम्झाउँछ– हरेक अन्धकारपछि उज्यालो छ, हरेक पतनपछि पुनरुत्थान छ। साथै हरेक अन्त्यभित्र एउटा नयाँ आरम्भ लुकेको हुन्छ।
त्यसैले, मेरा लागि वसन्त ऋतु मात्र होइन– जीवनको वन्दनीय सत्य हो।
वसन्तमा जब प्रकृति नवपालुवाले भित्रभित्रै पुष्पित हुने तरखरमा लाग्छ, त्यो दृश्य मेरो लागि मात्र दृश्य रहँदैन– त्यो एक गहिरो अन्तर्यात्रा बन्छ। आरु र बखडाका सेताम्मे फूलहरू जब एकैपटक उज्यालो फ्याँक्दै फक्रिन थाल्छन्, मलाई लाग्छ– प्रकृतिले आफ्नै मौन भाषामा पुनर्जन्मको घोषणा गरिरहेकी छ। ती फूलहरू रङ र सुवासका दूत होइनन्; ती समयका साक्षी हुन्, सहनशीलताको प्रतिमूर्ति पनि हुन्।
सुकेका हाँगाबिगाहरूमा जब हरिया मुनाहरू अङ्कुरित हुन थाल्छन्, म ती मुनाहरूमा आफ्नै मनको पुनरुत्थान देख्छु। जाडोको कठोरता सहेर निस्तेज देखिएका डाँठहरूभित्र यति धेरै जीवन लुकेको रहेछ भन्ने अनुभूति आफैँमा दार्शनिक सत्य हो। जीवन बाहिरबाट जति निस्तेज देखिए पनि भित्रको जीवनधारा कहिल्यै पूर्णतः सुक्दैन। समयले साथ दिएपछि, आशाले स्पर्श गरेपछि, त्यो फेरि हरियो हुन्छ– उल्लासित हुन्छ।
त्यसैले लाग्छ– वन्दनीय छ वसन्त मेरा लागि! अनुभूतिगम्य छन् यी पलहरू मेरा लागि!
किनकि ती फलहरू स्वादका प्रतीक होइनन्; ती धैर्यको परिणाम हुन्। ती फूलहरू सौन्दर्यका आभूषण होइनन्; ती सङ्घर्षपछिको मुस्कान हुन्। नयाँपनको सङ्घारमा प्रवेश गर्दै गरेको प्रकृतिको नौलो दृश्यले मलाई पनि आफ्नै जीवनको सङ्घारमा उभ्याइदिन्छ– जहाँ म पुराना विरक्तिहरू बिसाएर नयाँ सम्भावनातर्फ पाइला चाल्न सक्छु।
चुपचाप म वन्दनीय वसन्तको पहाडमा बिहानै ब्युझन्छु। कुहिरो अझै डाँडामाथि अल्झिएको हुन्छ, हावामा सिरेटोको मधुर स्पर्श बाँकी हुन्छ। म त्यो क्षणलाई हतार नगरी आत्मसात् गर्छु। प्रकृतिको काखमा आफूलाई समर्पित गर्दा म कुनै लेखक, कुनै यात्रु, कुनै नामधारी व्यक्ति रहँदिनँ। म एक अनुभूतिको पात्र बन्छु।
त्यस क्षण, चराको चिरबिर आवाज कुनै साधारण ध्वनि हुँदैन; त्यो जीवनको स्तुति हुन्छ। हावाले पातहरू हल्लाउँदा त्यो कम्पन हुँदैन; त्यो समयको सङ्गीत हुन्छ। म बिस्तारै ती हजारौँ प्रभावहरू ग्रहण गर्छु– रङ, गन्ध, स्पर्श, उज्यालो, मौनता। ती सबै मिलेर मेरो भित्र एउटा अदृश्य काव्य रचिन्छ।
वसन्तको पहाडमा उभिएर मलाई लाग्छ– मानिसको जीवन पनि प्रकृतिजस्तै चक्रमा बाँधिएको छ। कहिले शुष्कता, कहिले हरियाली। कहिले मौनता, कहिले गीत। यदि जाडोलाई स्वीकार्न सकिन्छ भने मात्र वसन्तको सौन्दर्य बुझ्न सकिन्छ। त्यसैले वसन्तले मलाई सिकाउँछ– स्वीकार गर्नु, धैर्य राख्नु र विश्वास गुम्न नदिनु।
नवपालुवाको त्यो सूक्ष्म हरियालीले भन्छ– “जीवन सधैँ अगाडि बढ्छ।”
फूलहरूको सेतो वासनादार आभाले भन्छ– “पवित्रता सम्भव छ।”
फलको मिठासले भन्छ– “प्रतीक्षा व्यर्थ खेर जाँदैन।”
चुपचाप म यी सबै सुन्छु। अन्ततः, वसन्त मेरो लागि ऋतु मात्र होइन; त्यो एक जीवन्त दस्तावेज हो– अनुभूतिका हजारौँ पृष्ठहरूमा लेखिएको। हरेक वर्ष दोहोरिने तर कहिल्यै पुरानो नहुने, जसले मलाई फेरि–फेरि नवजीवनको अर्थ सम्झाउँछ। प्रकृति र मेरो मनको गहिराइसम्म हरियो बनाइदिन्छ।
यसैले, जब म भित्रैदेखि भन्छु– “वन्दनीय छ वसन्त!” त्यो प्रकृतिप्रति श्रद्धा मात्र होइन; त्यो जीवनप्रति कृतज्ञताको उद्घोष हो।
