बंगलादेश निर्वाचन: तारिक रहमानको नेतृत्वमा बीएनपीको पुनरागमन
ढाका । बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। यस विजयसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
कुल ३०० संसदीय सिटमध्ये २९९ सिटमा मतदान भएको थियो। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको निधन भएकाले त्यहाँको निर्वाचन स्थगित गरिएको छ। पछिल्लो प्राप्त नतिजा अनुसार २०९ सिट जितेर बीएनपीले दुई तिहाइ बहुमत नजिकको सफलता हात पारेको छ। ढाका ट्रिब्युनका अनुसार बीएनपी एक्लैले १६५ भन्दा बढी सिटमा जित सुनिश्चित गरिसकेको छ।
बीएनपीका अध्यक्ष तारिक रहमानले दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र उनी दुवैमा विजयी भएका छन्। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका रहमानका लागि यो निर्वाचन सुखद पुनरागमन सावित भएको छ। अर्कातर्फ, जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले हालसम्म ६८ सिटमा चित्त बुझाउनु परेको छ। जमातका प्रमुख शफीकुर रहमान ढाका–१५ बाट निर्वाचित भएका छन्। अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले बाँकी सिटमा जित हासिल गरेका छन्।
यो निर्वाचन सन् २०२४ को विद्यार्थी विद्रोह र शेख हसिनाको सत्ता बहिर्गमनपछिको पहिलो राष्ट्रिय चुनाव हो। हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले यसपटक उक्त दल चुनावी मैदानमा थिएन। भारतमा निर्वासनमा रहेकी शेख हसिनाले भने यस निर्वाचनलाई ‘फर्जी र असंवैधानिक’ भन्दै टिप्पणी गरेकी छन्। उनले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर चुनाव गराएको आरोप लगाएकी छन्।
निर्वाचित भएलगत्तै तारिक रहमानले देशको शान्ति सुरक्षा र कानुन व्यवस्था सुधार्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। बीएनपीको यो जितलाई बंगलादेशमा झण्डै दुई दशकपछिको शक्तिशाली पुनरागमनका रूपमा हेरिएको छ। (एजेन्सी)
